काठमाडौँ, १७ असार । सरकारले नेपालमा लगानीको वातावरण बन्दै गएकाले निर्धक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरेको छ ।
नेपालमै रहेका विदेशी लगानीकर्तासँग उद्योग मन्त्रालय, उद्योग विभागले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा विभागका अधिकारीले शान्ति सुरक्षाको अवस्था सुध्रिदै गएको, विकासलाई सबैले प्राथमिकता दिएको र कानुनी प्रावधान पनि सहज भएकाले लगानी बढाउन आह्वान गर्नुभयो । “लगानीको सुरक्षाका लागि सरकार प्रतिबद्ध छ” उहाँहरुले भन्नुभयो ।
कार्यक्रममा विभागका निर्देशकद्वय विमलप्रसाद बराल र विपीन राजभण्डारीले नेपालमा विदेशी लगानीका लागि लगानीमैत्री नीति र कानुनी व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारले ल्याएको उद्योग नीति, विदेशी लगानीसम्बन्धी नीति, कम्पनी ऐन, लगानी बोर्ड लगायत व्यवस्था लगानीका लागि कोसेढुङ्गा भएको उहाँहरुको भनाइ थियो ।
अन्तक्र्रियामा सहभागी विदेशी लगानीकर्ताले पहिलेको तुलनामा लगानीको वातावरणमा धेरै सुधार आएको बताए । उनीहरुले लगानीको सुरक्षाको सुनिश्चितता अझै पूर्ण रुपमा हुन नसकेका तर्फ ध्यानाकर्षण गराउँदै बेला बेलामा हुने आन्दोलन र ऊर्जा सङ्कटप्रति लगानीकर्ताले चिन्ता र चासो देखाएका थिए ।
कार्यक्रममा अमेरिका, चीन, बेलायत, दक्षिण कोरिया लगायत झन्डै १५ देशका लगानीकर्ताको सहभागिता रहेको विभागका शाखा अधिकृत प्रेमराज लुइँटेलले जानकारी दिनुभयो । रासस
















प्रतिक्रिया