काठमाडौँ, १६ असार । सभामुख ओनसरी घर्तीले प्रमुख दलको राजनीतिक सहमति बिना नेपालको संविधान कार्यान्यवनको विषय सहज नभएको बताउनुभएको छ ।
पूर्व सांसद मञ्चले ५८ औँ संसद् दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान निर्माणका बेला एकै ठाउँमा उभिएका प्रमुख राजनीतिक दल कार्यान्वयनको समयमा समेत एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख दल मिल्दा ठूलठूला राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै उहाँले नेपाली जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्न पनि प्रमुख दलले सहमतिको यात्रा सुरु गर्नुका विकल्प नभएको उल्लेख गर्नुभयो । राष्ट्रिय कार्यभार पूरा गर्न राजनीतिक आग्रह तथा पूर्वाग्रह त्यागेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै सभामुख घर्तीले जनताको प्रतिनिधि थलो व्यवस्थापिका–संसद्लाई जनताप्रति उत्तरदायी बनाउन आफू प्रयासरत रहेको जानकारी गराउनुभयो ।
सभामुख घर्तीले भन्नुभयो, “संसद्बाट जनतालाई कसरी सेवा दिन सकिन्छ, कसरी जनउत्तरदायी बनाउन सकिन्छ भन्नेमा हामी प्रतिबद्ध छौँ । संसद्को प्रमुख हुनुको नाताले पनि म त्यतातर्फ क्रियाशील छु ।” उहाँले पूर्वसांसद मञ्चको आफू संरक्षक रहेको भए पनि व्यवहारत पूर्वजनप्रतिनिधि नै आफ्नो अभिभावक रहेको बताउनुभयो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले संविधान कार्यान्वयनको विषय नै तत्कालको महत्वपूर्ण कार्यभार रहेको बताउनुभयो । संविधान कार्यान्वयन, राष्ट्रिय माग तथा चाहनालाई सम्बोधन गर्न विगतमा एकै ठाँउमा उभिएका दल फेरि मिल्नुपर्ने र त्यसमा पूर्वसांसद् मञ्चको सहयोग र सद्भाव जरुरी रहेको उहाँको कथन थियो ।
कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्सेर राणा, पूर्व सांसद होमराज दाहाललगायतले मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गर्न जनप्रतिनिधि निकायलाई सबल र सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले राष्ट्रिय विषयमा पूर्वजनप्रतिनिधिको भूमिका र उहाँहरुको अनुभव नै महत्वपूर्ण हुने धारणा राख्नुभयो । रासस













प्रतिक्रिया