कैलाली, १५ असार । जिल्ला विकास समिति कैलालीले राजस्व घाटा हुने गरेर परेका चार टेण्डरलाई बदर गरेको छ ।
बदर हुने टेण्डरमा खुटिया र लिक्मा नदी प्रणालीको ढुंगा बालुवा निकासी तथा कृषितथा पशुजन्य र बेजिल्ला निकासीको ठेक्का बदर भएको स्थानीय विकास अधिकारी केशव बिमलीले जानकारी दिनुभयो । गत वर्ष १ करोड ८१ लाखमा ठेक्का गएको खुटिया नदी प्रणाली ९२ लाखमा र ६९ लाखमा गएको लिक्मा नदी प्रणाली ४० लाखमा टेण्डर हालिएको थियो भने कृषि तथा पशुजन्य निकासीमा गत वर्ष १ करोड ८६ लाखमा गएको ठेक्का यस वर्ष १ करोड ५१ लखमा टेण्डर हालिएको थियो ।
राजनीतिक संयन्त्रको संरक्षणमा जिविसका कर्मचारी र ठेकेदारहरुबीचको मिलेमतोमा गतवर्षभन्दा राजस्व कम हुने गरेर टेण्डर हालेको विषय सर्वत्र बिरोध भएपछि जिविस टेण्डर गर्नपुगेको हो । स्थानीय तथा राष्ट्रिय मिडियामा यसले चर्चा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग,सम्बन्धित मन्त्रालयले चासो राखेपछि राजस्व घाटा हुने गरेर परेका टेण्डरहरु बदर गरेको हो । यसबीचमा टेण्डर बदर नगराउन भन्दै ठेकेदार र जिविसका केही कर्मचारीहरुले दलहरुलाई उपयोग गर्न खोजेका थिए तर उनीहरुको प्रयास असफल भएपछि जिविस कैलालीको ठेक्का मुल्यांकन समितिले मंगलवार ठेक्का बदर गर्न गरेको सिफारिस कैलालीका स्थानीय विकास अधिकारी प्रमुख रहेको जिविस बोर्डले ठेक्का बदर गर्ने निर्णय गरेको हो ।
जिविस कैलालीले तीन वटा नदी प्रणालीमा हरेक वर्ष ढुंगा बालुवाको ठेक्का दिँदै आएको छ । कर्णाली, कान्द्रा र खुटिया नदी प्रणाली मध्ये कान्द्रा र खुटिया नदी प्रणालीमा स्थानीय राजनीतिक संयन्त्रणको संरक्षणमा जिविसका कर्मचारी र ठेकेदारहरुको मिलेमतोमा करोडौं राजस्व घाटा हुने गरेर मिलेमतोमा टेण्डर हालिएको थियो । राजस्व घाटा हुने गरि टेण्डर खोल्न लाग्दा समेत स्थानीय राजनीतिक संयन्त्रले कुनै पनि प्रतिक्रिया नआएपछि स्थानीय बासिन्दाहरु दलहरुप्रति आक्रोशित भएका थिए ।
दलहरुको मौनताले प्रश्न उब्जाएपछि टेण्डर खुलेको करिब एक हप्तापछिमात्र मुख खोलेका थिए । गत वर्षको भन्दा राजस्व कम हुने गरेर टेण्डर खोल्न नहुने भनेपछि स्थानीय विकास अधिकारीलाई बल पुगेको थियो । यसबीचमा ठेकेदारहरुले यस क्षेत्रका केही मिडियाकर्मीहरुलाई जम्मा गरेर टेण्डर बदर गर्न नहुने भन्दै जिविसलाई दवामा राख्दै आएका थिए । तर विभिन्न खालका दबावमा रहेका स्थानीय विकास अधिकारी केशव बिमलीले जिल्लाको राजस्व घट्न नहुने जनमत पाएपछि दबावका बावजुदपनि टेण्डर बदर गरेर साहासिक निर्णय गर्नुभएको छ । स्थानीय विकास अधिकारीको निर्णयको स्थानीय बासिन्दाहरुले प्रशंसा गरेकाछन् । जिल्लाको विकास निर्माणको काममा प्रभावित हुने गरेर राजस्व घाटा हुने देखेपछि स्थानीय विकसा अधिकारीको एकल बोर्डले मंगलवार बदरको निर्णय गरेको हो ।
टेण्डर बदर भएका दुई नदी र दुई अन्यको पुनः टेण्डरको तयारी भइरहेको राजस्व फाँटका प्रमुख योगेन्द्र चन्दले जानकारी दिनुभयो । जसरी टेण्डर बदर गराउन मिडियाहरु लागेका थिए अब राजस्व बढाउने गरि टेण्डरका लागि प्रोत्साहित गर्नुपर्ने चन्दको भनाई छ ।
















प्रतिक्रिया