काठमाडौं । कोरियोग्राफर दिलिप ओखेडाले काठमाडौंको डिल्लीबजारमा बलिउड मोसन डान्स एकेडेमी खोलेका छन् । कञ्चनपुरका ओखेडाले आफ्नो डान्स एकेडेमीलाई आइतबारदेखि औपचारिक रुपमा सुरुवात गरेका हुन् ।
डान्स एकेडेमीको उद्घाटन फिल्म निर्देशक ऋषि लामिछाने, अभिनेत्री सरिता लामिछाने र गायिका टीका पुनले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा कलाकार, गायक, गायिका, मोडल तथा विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति रहेको थियो ।
झण्डै ११ वर्ष बलिउडमा डान्स सिक्नुका साथै संघर्ष गरेका दिलिपले नेपाली फिल्ममा सहयोग पुगाउने उदेश्यका साथ काठमाडौं आएको बताए । ‘मुम्बईमा धेरै संघर्ष गरियो’, उनले भने, ‘अब काठमाडौंमै केही गर्नुपर्छ भनेर डान्स एकेडेमी खोलेको हुँ ।’
कोरियोग्राफर दिलिपलाई काठमाडौं ल्याउनुमा निर्देशक ऋषि लामिछाने र अभिनेत्री सरिता लामिछानेको विशेष सहयोग रहेको उनले कार्यक्रममा बताएका थिए ।
डान्स एकेडेमीमा दिलिपले अहिले थुप्रै ग्रुपलाई विभिन्न नाँच सिकाइरहेका छन् । नेपाली फिल्मा रुचि राख्ने दिलिप आफैमा पनि कलाकार हुन् ।















प्रतिक्रिया