इटहरी, १३ असार । पूर्वाञ्चलमा नै विकासको गतिमा अघि बढिरहेको इटहरी उपमहानगरपालिका क्षेत्रका भित्री सडक कालोपत्रे गर्ने प्रतिस्पर्धा चलिरहँदा सडक सफा सुन्दर र आकर्षक देखिने टायल प्रयोग गरेर नयाँ प्रविधिसहितको सडक बनाउन थालिएको छ ।
बीस एमएमको कालोपत्रे सडक चाँडै बिग्रने र तत्काल मर्मत गर्नका लागि पनि खर्चिलो हुने भएपछि इटहरी उपमहानगरपालिकाका भित्रपट्टिका सडक उपभोक्ता आफ्नो टोलको सडकमा कालोपत्रेको सट्टा सिमेन्टको इँटा प्रयोग गरेर सडक बनाउने अभियानमा जुटेका छन् ।
पाँच इन्च मोटाइ भएको टायल सडकमा बिच्छ्याउँदा सडक पनि राम्रो र सफा देखिने अनि मजबुत पनि हुने भएकाले कालोपत्रेको सट्टामा टाली प्रयोग गरिएको इटहरी–८ का भलादमी टोलका गोविन्द अधिकारीले बताउनुभयो ।
इटहरी उपमहानगरपालिका–८ कै शान्तिमार्गका टोल विकास संस्थाका अध्यक्ष माधव बोगटीले पनि बीस एमएमको कालोपत्रे बनाउनुभन्दा त टायल प्रयोग गरेर सडक बनाइँदा ज्यादै राम्रो पनि देखिने र मजबुत समेत हुने देखेर हामीले पनि सडकमा टायल नै हालेर सडक बनायौँ भन्नुभयो ।
यो वर्ष इटहरी उपमहानगरपालिका–४ का पाथीभरा मार्ग ओमशान्ति मार्ग सयपत्री मार्ग र बगैँचा टोल मार्गमासमेत टायल बिच्छ्याएर बनाइएको छ । उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहाल पनि टायल प्रयोग गरेर सडक बनाउँदा मजबुत समेत हुने भएकाले यसको प्रयोग बढ्दो रहेको बताउनुहुन्छ ।
इटहरी उपमहानगरपालिकाले आफ्नो कार्यालय परिसरमा समेत टायल नै लगाएको छ । रासस















प्रतिक्रिया