काठमाडौं, १२ असार । प्रधान सेनापति राजेन्द्र क्षत्री लेबनानबाट स्वदेश फर्किएका छन् ।
प्रधानसेनापति क्षत्री आसार ७ गतेदेखि युनिफिल मिशन लेबनानको निरीक्षण भ्रमणका लागि त्यसतर्फ गएका थिए । भ्रमण सकेर आइतबार अपराह्न स्वदेश फर्किएका हुन् ।
उक्त भ्रमणको दौरान प्रधानसेनापति क्षत्रीद्वारा शान्ति स्थापना कार्यको लागि युनिफिल मिशन लेबनानमा तैनाथ श्री गोरखदल गण (शा.से.) ५७ औं डफ्फाको गण हेडक्वाटर तथा सो गण अन्तर्गत लेबनानको विभिन्न स्थानहरुमा तैनाथ पोष्टहरुको स्थलगत निरीक्षण भ्रमण गरी त्यहांको बस्तुस्थितिका बारेमा जानकारी लिई सकल दर्जालाई सम्बोधन गरेका थिए ।
त्यसैगरी, भ्रमणकै क्रममा प्रधानसेनापति क्षत्रीले लेबनानका कायम मुकायम राष्ट्रपति एवं प्रधानमन्त्री तम्माम सलमान तथा रक्षामन्त्री समीर मउकबेल लगायत लेबनानका उच्च सुरक्षा अधिकारी र इटाली र स्पेनका मिसन कमाण्डर जनरलहरुसँग भेटवार्ता गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उक्त भेटवार्ताको क्रममा उनीहरुबीच युनिफिल मिशन लेबनानका विविध पक्षहरुका साथै नेपाली शान्ति सैनिकहरुको भूमिका सम्बन्धमा छलफल भएको थियो ।
यस किसिमको शान्ति स्थापनार्थ तैनाथ स्थानहरुमा सैनिक नेतृत्व वर्गको भ्रमण र संयुक्त राष्ट्रसंघका पदाधिकारीहरुसंगको भेटघाटले नेपाली सेनाको अन्तर्राष्ट्रिय छवि प्रबद्र्धन हुनुको साथै नेपाली शान्ति सैनिकहरुको हौसला अभिबृद्धि गर्न थप मद्दत पुग्ने तथा संयुक्त राष्ट्रसंघ, नेपाल र सम्बन्धित राष्ट्रबीच रहंदै आएको सौहार्दपूर्ण सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।












प्रतिक्रिया