त्रिशूली(नुवाकोट), १२ असार । नेपाली सेनाले भूकम्पपीडितका लागि तीन सामुदायिक भवन निर्माण गरेको छ ।
नेपाली सेनाले निर्माण सुरु गरेको १५ दिनको अवधिमा बुधसिङ, थानसिङ र ओखरपौवा गाविसमा सामुदायिक भवन बनेका हुन् । निर्माण सम्पन्न भएको सामुदायिक भवन भूकम्पपीडितलाई हस्तान्तरण समेत गरिएको छ । बर्सुन्चेत गाविसमा भने तीन दिनभित्र सामुदायिक भवनको निर्माण सम्पन्न हुने श्रीनाथ गण देवीघाटका प्रमुख सेनानी रोहित गुरुङले जानकारी दिनुभयो ।
एउटा भवन निर्माणका लागि सबै सामग्री र जनशक्तिको लगानीलाई रकममा रुपान्तरण गर्ने हो रु २३ लाखभन्दा बढी खर्च भएको छ । आगामी केही समयभित्रै विस्थापितलाई बसोबास व्यवस्थापन गर्न सेनाका जनशक्ति अहोरात्र सामूहिक भवन निर्माणमा खटिरहेका छन् । आवासको निर्माणको साथै महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, स्नानगृह समेत निर्माण भएको छ ।
भूकम्पपीडितका लागि सेनाले निर्माण गर्दै गरेको सामूहिक आवासबाट भूकम्पपीडित परिवार खुसी भएको जिल्ला दैवीप्रकोप उद्धार तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रजिअ विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।
नुवाकोटमा सेनाले सात, समुदायले एक र ठेक्का मार्फत निर्माण व्यवसायीले दुई स्थानमा सामुदायिक भवनको निर्माण भइरहेको छ ।
उपभोक्ता र निर्माण व्यवसायीले निर्माण गरेका सामुदायिक भवनको निर्माण समयमै सम्पन्न नहुने भएका छन् । सामुदायिक भवनमा हरेक स्थानमा आठ परिवार रहन सक्ने गरी निर्माण गरिएको छ । रासस













प्रतिक्रिया