काठमाडौं । जी फाइभ ग्रुप डी फिल्मस प्रालिको निर्माणमा बन्न लागेको दोस्रो फिल्म ‘प्रेम रक्षक’का गीतहरू धमाधम रेकर्डिङ भइरहेका छन् ।
काठमाडौंको सामाखुसीस्थित एमबी रेकर्डिङ स्टुडियोमा संगीतकार विपिन आचार्यले शनिबार आफ्नो भागमा परेका तीन वटा गीत रेकर्ड गराए । फिल्मका निर्देशक गणेश बेलवासेका अनुसार सबै गीत राम्रा बनेका छन् ।
‘प्रेम रक्षक’ बेलवासेको निर्देशनमा बन्न लागेको पहिलो फिल्म हो । यसअघि उनले ‘उहिले बाजेको पालामा’ फिल्म निर्माण गर्नुका साथै अभिनय गरेका थिए । निर्देशक बेलवासेले ‘प्रेम रक्षक’मा तीन जना संगीतकार राखेका छन् ।
फिल्मको गीतमा आ–आफ्नो प्रकारको मौलिकता रहोस् भनेर तीन जना संगीतकार राखिएको निर्देशक बेलवासेले बताए । फिल्ममा विपिनका साथै सन्तोष श्रेष्ठ र सपन घिमिरेले पनि गीतमा संगीत दिएका छन् । श्रेष्ठ र घिमिरेको पनि गीत रेकर्डिङका लागि अन्तिम चरणमा छन् ।
संगीतकार विपिन आचार्यको संगीतमा बनेका गीतमा सिक्किमको गान्तोक घर भएकी गायिका एनी श्रेष्ठ, शरद समिप, विकास कर्णले स्वर दिएका छन् ।
‘प्रेम रक्षक’मा रविना केसीले डेब्यू गर्दैछिन् । धरान घर भएकी रविनाले ‘प्रेम रक्षक’बाट कलायात्रा सुरू भएकोमा खुसी लागेको बताइन् । ‘प्रेम रक्षक मेरो पहिलो डेब्यू फिल्म हो’, रविनाले भनिन्, ‘मेरो सानैदेखिको नायिका बन्ने रहर र अभियन गर्ने चाहना पूरा हुँदैछ ।’
‘प्रेम रक्षक’ भदौ १५ गतेदेखि शूटिङमा जाँदैछ । अहिले शुटिङ अगाडि गर्नुपर्ने तयारी र प्राविधिक कार्यहरू भइरहेको निर्देशक बेलवासेले बताए । फिल्मको अधिकांश छायाँकन तनहुँ जिल्लाको बन्दिपुरमा हुनेछ ।
















प्रतिक्रिया