१ कार्तिक २०८३, आइतबार

गायक प्रमोद खरेलले बनाइदिए स्कुल, सबैको मुहारमा खुसी (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

School

दोलखा । लोकप्रिय गायक प्रमोद खरेलले गत वर्षको महाभूकम्पका कारण ध्वस्त भएको एक विद्यालयको पुनःनिर्माण गरिदिएका छन् ।

उनले बेल्जियमको पासाःपुच लगायतको सहयोगमा दोलखा, सुन्दरावतीस्थित निकै विकट स्थानमा रहेको सरस्वती प्राथमिक विद्यालय बनाइदिएका हुन् ।

शुक्रवार शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले विद्यालयको उद्घाटन गरे भने गायक खरेलले विद्यालयको चाबी दिएर स्कुल हस्तान्तरण गरे । कार्यक्रममा कलाकारले शिक्षा क्षेत्रमा देखाएको तदारुकताको शिक्षामन्त्री पोखेरेलले खुलेर प्रशंसा गरे । ‘भूकम्पपछि धेरै विद्यालय क्षतिग्रस्त छन्,’ उनले भने, ‘यसका लागि हामी पनि लागिरहेका छौं र प्रमोदजीहरु पनि आफ्नो स्थानबाट लागिरहनुहोस् भन्ने हामी चाहन्छौं ।’

pramod-kharel-school

कक्षा तीनसम्म पढाईने उक्त विद्यालयमा चार कोठे पक्की भवनको पुनःनिर्माण भएको हो । ‘आज मेरो एउटा सपना पुरा भएको छ,’ गायक खरेलले भने, ‘महाभूकम्प लगत्तै स्थानिय सुदिपकुमार रेग्मीजीको माध्यमबाट यो स्कुल अवलोकन लागि म यहाँ आइपुगेको थिए । त्यतिवेला स्कुल पूर्णरुपमा क्षतिग्रस्त थियो, विद्यार्थीको अनुहारमा निराशा थियो, कसैको खुट्टामा चप्पल थिएन, कसैको के । आज सबैको मुहार चम्किएको पाउँदा म खुशी छु ।’

यो स्कुलमा ६८ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रिन्सिपल प्रल्हादप्रसाद पकुवालले बताए । ‘९० प्रतिशतभन्दा बढी विद्यार्थी थामी समुदायबाट छन्, ’ उनले भने । भूकम्पपछि पालमा राखेर विद्यार्थी पढाएको उनले बताए ।

pramod-kharel-school-1

स्कुल हस्तान्तरण कार्यक्रममा हास्यकलाकारहरु किरण केसी, शिवहरी पौडेल, जितु नेपाल, संगीतकार चेतन सापकोटा, प्रस्तोता नरेश भट्टराई लगायत सहभागी थिए । यो स्कुलको पुनःनिर्माणमा नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा संलग्न रहेको मेची अभियान, झापाले समेत सहयोग पुर्याएको छ । ‘स्कुलको उद्घाटनमा आज यहाँ थुप्रै हास्यकलाकार र संगीतकार आउनुभएको छ,’ कार्यक्रममा विश्वप्रकाशले भने, ‘यो एउटा सकरात्मक सन्देश पनि हो । अब यहाँ पढ्ने र पढाउने कोही पनि निराश हुन पाइदैन है भन्ने गतिलो सन्देश पनि हो यो ।’

कुल २२ लाखमा निर्माण भएको स्कुलका लागि बेल्जियममा रहेको संस्था पासाःपुचले १० लाख रुपिँया सहयोग गरेको प्रमोदले बताए । त्यस्तै गुरुङ ब्रदर्स युएसए, सुषमा सुब्बा (युके), प्रमोदराज न्यौपाने एण्ड ग्रुप (युके), सुर्यप्रसाद रेग्मी (दोलखा), रोहित सुवेदी (युएसए), इप्लानेट नेपाल लगायतले पनि सहयोग उपलब्ध गराएका थिए ।

pramod-kharel-school-2

स्कुल पुनःनिर्माणकै लागि झापामा मेची अभियानले कन्सर्ट आयोजना गरेको थियो । कार्यक्रममा जितु नेपालले निःशुल्क प्रस्तुति दिएका थिए । ‘अहिलेसम्म मैले मेरो पारिश्रामिकको बारेमा केही सोधेको थिइन्,’ कार्यक्रममा जितुले भने, ‘आज मैले स्कुलको भित्तामा पारिश्रामिक स्वरुप मेरो नाम देखे, जिन्दगीभर नमेटिने पारिश्रामिक पाउँदा खुशी छु ।’

स्कुल पुनःनिर्माण भएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खड्गप्रसाद थामी दंग थिए । ‘कलाकारको काम मनोरञ्जन दिलाउने हो भन्ने मात्र लाग्थ्यो,’ उनले भने, ‘तर, साह्रै मनकारी पनि हुँदारहेछन् । यो स्कुलमा पढ्ने विद्यार्थीले प्रमोदजीको गुण कहिले बिर्सिने छैनन् ।’

pramod-kharel-school-3

भूकम्पले घर भत्काएपछि अस्थाई टहरामा जसोतसो जिवन बिताइरहेका श्यामसुन्दर शाहीको मुहारमा पनि बेग्लै मुस्कान देखिन्थ्यो । उनकी छोरी विद्यालयमा पढ्दैछिन् । ‘अब मेरी छोरी पक्की घरमा बस्न नपाएपनि पक्की स्कुलमा पढ्छे,’ उनी मुस्कुराए, ‘यस्तो देख्न पाउँदा कुनचाँही बाउ खुशी नहोला ?’