काठमाडौं, १० असार । देशको आन्तरिक सुरक्षा जिम्मेवारी प्राप्त ऐतिहासिक नेपाल प्रहरी संगठनकै मुख्यालयको भविष्य खतरामा परेको छ ।
प्रहरी मुख्यालयकै सामुन्ने जगदम्बा ग्रुपले तीनतला अण्डर ग्राउण्डसहित चौधतले गगनचुम्बी होटलको निर्माणकार्य थालेपछि त्यहाँको सम्पूर्ण सुरक्षा गतिविधि तथा सञ्चार प्रविधिका गोप्यतासमेत भंग हुने अवस्था निम्तिएको छ । यद्यपी, प्रहरीका उच्च अधिकारीलाई त्यसबारे कुनै जानकारीसम्म छैन ।
तीनतला अण्डर ग्राउण्डको वेसमेन्ट निर्माणका क्रममा चर्काे आवाज आउने ठूला ठूला मेसीनरी प्रयोग गरी चौविसै घन्टा काम गर्दा अशान्ति भएको र आफ्ना घरको पर्खाल समेत चर्केको, दबेको र घर नै भत्किने खतरा बढेको भन्दै स्थानीयवासीले प्रहरी युनिट, जिल्ला प्रशासन कार्यालय, महानगरपालिकामा उजुरी गर्दा र रातैभरी ठूला टिपरले माटो फाल्ने काम गरिरहँदासमेत प्रहरी मुख्यालयका उच्च अधिकारीहरु उक्त स्थानमा कसले के निर्माण गर्दैछ भन्ने बारेमा चाँसोसम्म दिएका छैनन् ।
दश वर्षे जनयुद्धकालमा सबैभन्दा बढी समय सानसँग दुश्मनसँग प्रतिकार गरेको नेपाल प्रहरीले आफ्नो मुख्यालयलाई खतरा हुन सक्ने तथा गोपनियता भंग हुने अवस्थाको होटल निर्माण भइरहँदा समेत बेवास्था गर्नुले प्रहरीका उच्च अधिकारी आफ्नो जिम्मेवारी प्रति कतिसम्म उदासिन रहेछन् भन्ने बुझाउँछ । यसै विषयलाई लिएर प्रहरीका उच्च अधिकारीसँग सम्पर्क गर्दा उनीहरुले आफूहरुलाई त्यस बारेमा जानकारी नभएको बताए । ‘सुरक्षा निकायको स्वीकृती नभइकन उसकै मुख्यालय अगाडी निकै अग्ला भवन निर्माण स्वीकृती दिन नहुने हो, त्यसमा नक्सा स्वीकृती गर्ने निकायको लापरवाही देखिन्छ,’ एक प्रहरी अतिरिक्त महानिरीक्षकको भनाइँ थियो ।
यता, जनताको जिउधनको सुरक्षाको जिम्मेवारी प्राप्त निकाय प्रहरीले दिनरात ठूलो आवाज आउने र भुँई नै थर्कने गरी ठूलाठूला मेशीनेरी प्रयोग गर्दै निर्माणकार्य भइरहेकाले संविधान प्रदत आफ्नो अधिकार समेत खोसीँदा पनि स्थानीय प्रहरीले आवश्यक चासो नदर्शाएको गुनासो गरेका छन् । ‘धुलो, धुँवा तथा आवाजले स्वास्थ्यमा निकै असर पारीसक्यो, आफ्नो घरपर्खाल कुन दिन लड्ने हो ?’ छिमेकी होटल क्राउन प्लाजाका सञ्चालकको गुनासो छ, ‘सम्पतीको समेत सुरक्षा भएन, वर्षात्को समयमा नक्सालबासी (जो गगनचुम्बी भवन निर्माणाधिन वरपरका बासीन्दा हौं), हामीलाई चिन्ताले सताइरहेको छ ।’ उनीहरुको चिन्ता तिनतलाको अण्डरग्राउण्ड बेसमेन्टले पानीको स्रोत (इनार, बोरिङ) समेत सुकाउने चिन्ता बढेको छ ।
‘‘सायद होटल निर्माणकर्ताको प्रलोभनमा परेकैले होला कमलपोखरी प्रहरी वृत्तमा गएर गुनासो गर्दा उनीहरुले ‘रातिमा काम गर्यो भने भन्नुस्, दिनमा बनाउन पाउनै पर्यो नि !’ भन्छन्, हेभी मेशीनरीले सँगैको घरमा कस्तो असर पारेको छ, त्यतातर्फ उनीहरुले चासो नै दिएका छैनन्,’’ नक्सालबासीको गुनासो छ, ‘हेभी मेशीनेरी चलेका बेला दुई मिनेट बस्न सकिँदैन, दिन कसरी कटाउने भन्ने अवस्थामा हामी पिडीत बन्न पुगेका छौं । तैपनि, स्थानीयस्तरमा न्यायअन्याय छुट्याइदिने, नागरिकलाई शान्ति सुरक्षाको अवस्था सिर्जना गराइदिने आफ्नो कर्तब्य तथा दायित्वबाट समेत प्रहरी पन्छिन खोजेको भान हामीलाई भइरहेको छ ।’ दुईचार महिनाको निर्माण कार्य भए बेग्लै कुरा हुन्थ्यो तर, वर्षौं लाग्ने निर्माण कार्यमा यसरी दादागिरी देखाएर कयौंलाई पिडीत तुल्याउने शंकर गोल्यान परिवार र ठेक्दारीका नाममा जंगली व्यवहार देखाउने सुशील श्रेष्ठलाई कारवाहीको दायरामा कसले ल्याउला ? पिडीतले त्यो दिनको प्रतिक्षा गरिरहेका छन् ।
यहीबीच प्राप्त समाचार अनुसार पिडीत मध्येका एक छिमेकीलाई निर्माण कार्यको, हेभी मेसीन चलाउँदा घरै थर्काउने गरी आएको कम्पनसहितको आवाज, धुलो र धुँवाकै कारण गम्भीर विरामी परेपछि दुई दिन नर्भीक अस्पतालमा भर्ना गरी थप उपचारका लागि दिल्ली लगिएको छ । यसअघि नै प्रहरीमा गरिएको उजुरीमा आफू मुटु, सुगर, पे्रसरलगायतको गम्भीर विरामी रहेको चिकित्सकको ‘प्रिप्केशन’सहित प्रशस्त आराम लिने र तनावरहित जिवन जिउन सुझाव दिएको पत्र समेत नथ्थी गरिएको अवस्थामा घरै छाडेर अन्यत्र जानु पर्ने अवस्था सिर्जना गराउँदा पनि प्रहरीले आवश्यक न्याय दिन नचाहानुले विभिन्न शंका उपशंका उत्पन्न गराएको छ । यसै विषयलाई लिएर महानगरीय प्रहरी आयुक्त प्रतापसिंह थापालाई समेत पिडीतले आफ्नो पिडा जानकारी गराइसकेका छन् । अब उनीहरुको आईजीसा’पसँग एउटै प्रश्न छ– ‘जनताको जिउधनको सुरक्षा कसले गर्छ ?’ छिट्टै समस्या सामाधान नभए प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई भेटेर आफ्नो पिडादायी गुनासो सुनाउने तयारीमा उनीहरु जुटेका छन् ।
विवादास्पद उद्यमी शंकर गोल्यानको लगानीमा निर्माण गर्न लागिएको जगदम्बा हस्पीटालीटीको उक्त होटल अन्तर्राष्ट्रिय चेन होटल हिल्टनको ‘डबल ट्री’सँग आवद्ध रहने बताइएको छ । निर्माणको ठेक्का पाएको कम्पनीका सुशील श्रेष्ठ, धिरेन्द्र मिश्रलगायतको अमानविय स्वभावकै कारण स्थानीयवासी पिडीत बन्न पुगेका हुन् । पिडीतहरुले महानगरपालीकामा गुहार गरेपछि छिमेकीको घर कम्पाउण्डमा जोडेर राखिएका हेभी मेसिनरी र जेनेरेटर पर्सी आइतबारसम्म हटाउन आदेश दिएको बुझिएको छ, महानगरपालिकाको आदेश अटेर गरेमा निर्माण कार्य नै रोकीदिने सम्भावना बढेपछि गोल्यान समुह अत्तालिन पुगेको छ ।
स्मरणीय छ, एनआरएन अध्यक्ष शेष घलेको लगानीमा नारायणहिटी पश्चिममा निर्माण गर्न खोजीएको चेन होटल सेराटोन समेत छिमेकका घर चर्केको र पानीको स्रोत सुकेको गुनासो स्थानीयवासीले गरेपछि हाल महानगरपालिकाकै आदेशले निर्माणकार्य रोक्का गरिएको छ ।
















प्रतिक्रिया