१ कार्तिक २०८३, आइतबार

पन्ध्र करोडमा फैंदारघाट सिँचाइ आयोजना

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Paisa-Curancyझापा, १० असार । दक्षिणी झापाको राजगढमा ६०० हेक्टर क्षेत्रफल सिँचाइ गर्ने गरी फैंदारघाट सिँचाई उपआयोजना सञ्चालन गरिने भएको छ ।

नेपाल सरकारको साना तथा मझौला सिँचाइ योजनाअन्तर्गत रु १५ करोड रुपैयाँको लागतमा उक्त योजना सञ्चालन गर्न लागिएको सिँचाइ विकास डिभिजन झापाका प्रमुख ईश्वरी तिवारीले जानकारी दिनुभयो । अन्धुवा खोला पानीको मुहान रहेको फैंदारघाट सिँचाइ उपआयोजना राजगढ–८ को पनेरु गाउँ हुँदै पाँच किलोमिटर ‘मेन च्यानल’ र चार किलोमिटर ‘सहायक च्यानल’ मार्फत पानी वितरण गरिने उहाँको भनाइ छ ।

योजना सञ्चालनका लागि असारभित्रै टेन्डर प्रक्रिया अघि बढाइने डिभिजन प्रमुख तिवारीको भनाइ छ । फैंदारघाट सिँचाइ उपआयोजना उपभोक्ता समिति अध्यक्ष राम दुलालले दिनुभएको जानकारीअनुसार आयोजना सञ्चालन भएपछि राजगढ–८, ६, ५, ४ र ३ नं वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुने भएका छन् । आयोजना सञ्चालनका लागि २०५५ सालमा तदर्थ समिति गठन गरिएको थियो ।

योजना स्वीकृत भएलगत्तै सिँचाइ विकास डिभिजन कार्यालयले फैंदारघाट सिँचाइ उपआयोजना उपभोक्ता समिति र स्थानीयवासीबीच राजगढमा तीनदिने प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरेको छ । रासस