काठमाडौं, ८ असार । युवा संघ नेपालले अफगानिस्तानमा मारिएका नेपालीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
युवा संघको केन्द्रीय जिल्ला कमिटीले बुधबार साँझ नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि श्रद्धाञ्जलि सभाको आयोजना गरी अफगानिस्तानको काबुलमा तालिवानी आतंकवादी आक्रमणमा परेर ज्यान गुमाएका १२ जना नेपालीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेको हो । संघले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष राजिव पहारीले यो दुःखद घटनाको भर्त्सना गर्दै मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरे । ‘आतंकवादीको कुनै जात हुँदैन, कुनै धर्म हुँदैन, निर्दोष मारेर आतंक मच्चाउने यिनीहरुको काम हो’ उनले भने– ‘यसबाट नेपालीहरु टाढै रहनुपर्छ ।’
नेपाली युवाहरु रहरले नभई बाध्यताले विदेशमा गएको भन्दै यस्ता द्वन्द्वग्रस्त मुलुकमा जान नहुनेमा जोड दिए । ‘द्वन्द्वग्रस्त मुलुकमा नेपाली दाजुभाई कसरी पुगे ? सरकारले छानविन गर्नुपर्छ र दोषीलाई कारवाही गर्नुपर्छ ।’
केपी ओली नेतृत्वको वर्तमान सरकारले नेपालमै रोजगारी सिर्जना गर्ने प्रयास गरिरहेको भन्दै अध्यक्ष पहारीले अब नेपाली युवाहरुले स्वदेशमै महेनत गर्नुपर्ने बताए ।
कार्यक्रममा जय गुरुङले आफ्नो धारणा राखेका थिए । श्रद्धाञ्जलि सभामा सयौं नागरिक सहभागी थिए ।














प्रतिक्रिया