काठमाडौं, ७ असार । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अफगानिस्तान घटनाको छानविन र विश्लेषणपछि सरकारले सो मुलुकलाई रोजगारीको लागि खुल्ला गर्ने कि बन्द गर्ने भन्ने विषयमा उचित निर्णय गर्ने बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले नेपाल सरकारले सम्बन्धित मुलुकको आर्थिक अवस्था, मानवअधिकारको अवस्था र सुरक्षाको अवस्था हेरेर मात्रै रोजगारको लागि खुल्ला गर्ने गरेको बताउनुभयो । उहाँले अफगानिस्तानमा भएको घटना नेपालीप्रति नै लक्षित भएको पाइए सोही अनुसार रोजगारीको लागि बन्द हुन सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एक–दुई घटना हुँदैमा बन्द गर्ने र खुल्ला गर्ने भन्ने कुरा हुँदैन । अफगानिस्तानमा नेपाली नागरिकमाथि भएको आक्रमणको अध्ययन गरेपछि नेपालीलाई नै लक्षित गरेर आक्रमण भएको पाइएमा त्यसको विश्लेषणपछि मात्रै सरकारले आवश्यक निर्णय गर्नेछ ।’
भुर्तेलले अफगानिस्तानमा आतंकवादी आक्रमणमा मारिएका १२ नेपालीको शब र घाइतेहरूलाई ल्याउन सरकारले आज विशेष चार्टर विमान पठाउने जानकारी दिनुभयो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्न पुडासैनीले अफगानिस्तानको ग्रीनजोन एरियासहित १ सय १० मुलुकलाई सरकारले वैदेशिक रोजगारीको लागि खुल्ला गरेको जानकारी दिँदै अफगानिस्तानमा संस्थागत रुपमा पाकिस्तानको नेपाली राजदूतावासले स्वीकृति दिएपछि मात्रै नेपालबाट श्रम स्वीकृति दिने गरेको बताउनुभयो ।
उहाँले अहिलेसम्म अफगानिस्तानमा रोजगारीको लागि संस्थागत रुपमा ३ हजार ३ सय २३ र व्यक्तिगत रुपमा ५ हजार २ सय ९१ जनाले श्रम स्वीकृति पाएको तथ्याङ् प्रस्तुत गर्दै श्रम स्वीकृति नलिइ पनि गएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले आफूहरूले सरकारले तोकेको मापदण्ड बाहेक आफूहरूले ईराक र अफगानिस्तानलगायतका मुलुकमा कामदार नपठाएको दावी गर्नुभयो । उहाँले सुरक्षाको पूर्ण प्रत्याभूत नभएसम्म यस्ता जोखिमपूर्ण मुलुकहरूमा नेपाली कामदार पठाउन नहुने धारणा राख्नुभयो ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले वैदेशिक रोजगारीसम्बन्धी कानुन र खुल्ला सिमानाका कारण सरकारले प्रतिबन्ध लगाएको मुलुकमा समेत विभिन्न दलालहरूमार्फत अबैद्य बाटोबाट नेपाली कामदार रोजगारीमा जाने गरेको दावी गर्नुभयो । उहाँले अनौपचारिक जानकारी अनुसार सरकारले प्रतिबन्ध लगाएको इराकमा ५० हजार नेपाली नागरिक रहेको दाबी गर्नुभयो ।
न्यौपानेले अफगानिस्तानमा भारत, श्रीलंका र दुबईको बाटो हुँदै मानवतस्करहरूले रोजगारीको लागि लैजाने गरेको बताउँदै अफगानिस्तानमा १० देखि १५ हजार यस्ता नेपाल कामदार भएको अनुमान गर्नुभयो ।













प्रतिक्रिया