काठमाडौँ, ७ असार । ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण काम अन्तर्गत हाल पोखरीको वरपर पर्खाल लगाउने काम भइरहेको छ ।
पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भत्काउने काम सँगै पोखरी वरपरको डन्डी निकाल्ने काम सकेर पर्खाल लगाउने काम सुरु भइरहेको छ । अबको दश दिनमा मन्दिर भत्काउने र पर्खाल लगाउने काम सकिएपछि पोखरीको वरपर थप सुन्दर बनाउने काम सुरु गरिने ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले बताउनुभयो ।
उक्त मन्दिर गत वर्षको ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त भएको थियो । “काम तीव्र रुपमा अघि बढिरहेको छ, सुन्दरताको काम सकेपछि मात्र पोखरीमा रहेको पानी फाल्ने, माछा व्यवस्थापनको काम गरिने छ” कँडेलले भन्नुभयो । उक्त काम पनि अबको केही दिनमा सुरु गरिने योजना छ ।
रानीपोखरी पानीविहीन
पोखरीमा रहेको केही पानी निकालिसकिएको र केही माछा समेत बालाजु बाइसधारामा लगिसकिएको छ । बाँकी रहेको केही पानी फाल्ने काम र केही माछा पनि निकालेपछि पोखरीको हिलो फाल्ने काम सुरु गरिने जनाइएको छ । लामो समयपछि अबको केही दिनमा पोखरी सरसफाइको काम सुरु हुने भएकाले रानीपोखरी पानीविहीन हुने भएको छ । सम्पूर्ण निर्माणका लागि १५ महिना समयावधि रहे पनि मन्दिर निर्माणको काम कात्तिक महिनासम्म सक्नका लगि काठमाडौँ महानगरपािलकाले निर्माण कम्पनीलाई अनुरोध गरेको छ । पोखरीको सम्पूर्ण भाग ६० रोपनी क्षेत्रफलको रहेकामा पोखरीले मात्र ४० रोपनी जग्गा ओगटेको कामपाको भनाइ छ ।
हरेक वर्ष तिहारमा भाइटीकाका दिन मात्र खुल्ने उक्त मन्दिर यस वर्ष दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले ढुक्कसँग प्रगोग गर्न पाउने पुनःनिर्माणमा संलग्न अरविन्द न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गत वैशाखदेखि सुरु गरिएको काम आगामी असोजमा सक्ने लक्ष्यका साथ तीव्रसँग अघि बढिरहेको छ ।
झन्डै ४०० वर्षदेखि रानीपोखरी सफा गरिएको थिएन । रानीपोखरीको पुनःनिर्माण अन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलिमिली बनाइने र पोखरीको संरक्षणका लागि चारैतिर बार निर्माण गरिने, बोटबिरुवा रोपिने तथा हरियाली बनाइने छ । ऐतिहासिक महत्व बोकेको ‘विष्णुतीर्थ’ प्रताप मल्लका कान्छा छोरा चक्रव्रतेन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउनका लागि निर्माण गरिएको भनाइ छ । विसं १७२५ देखि १७२७ सम्ममा पोखरी निर्माण गरिएको हो । पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उहाँका छोराहरू सहितको सेतो मूर्ति छ । केही वर्षदेखि छठ पर्व समेत मनाउन थालिएको रानीपोखरीको चार कुनामा सोह्रहाते गणेश, सरस्वती, महालक्ष्मी र भैरव गरी चार मन्दिर छन् । रासस












प्रतिक्रिया