काठमाडौं, ७ असार । सोमबार विहानै काबुलमा भएको आतङ्कारीको हमलामा परी १२ नेपाली मारिए ।
नेपालीको मृत्यु भएको खबर सुनेर सुरुमा ट्वीट गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जलि लिँदै सहानुभुति प्रकट गरे । त्यसपछि लगत्तै अर्काे ट्वीट गरे, जसमा लेखिएको थियो- दुःखको यस घडीमा नेपाललाई सहयोग गरिरहेका छौं ।
जून सरासर ढाटेको जस्तो देखिएको प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले बताए । परराष्ट्र मन्त्रालयका अनुसार पनि अहिलेसम्म भारतबाट कुनै सहयोग भएको छैन् । मोदीले कुटनीतिक भाषा प्रयोग गरी काबुल घटनालाई लिएर सहानुभुति दर्शाउँदै नेपालीको मन जित्न खोजेको ती कर्मचारी बताउँछन् ।
‘नाकाबन्दी, मधेस आन्दोलनमा प्रत्यक्ष सहयोग लगायतका व्यवहारले भारतप्रति नेपालीको मनमा घृणा जागेपछि दुःखद घटनामा सहानुभुति दर्शाउँदै झुट बोलेर मोदीले नेपालीलाई फकाउन खोजे,’ उनको विश्लेषण छ ।
प्रधानमन्त्री ओलीले गरेरै देखाएदिए
‘भारतले सहयोग गरिरहेका छौं भनेको बेला यता केपी ओली नेतृत्वको सरकारले नेपालीको उद्दार गर्न आफै सक्षम छौं भन्ने सन्देश दिएको छ,’ प्रधानमन्त्री कार्यालयका ती कर्मचारीले अगाडि भने- ‘सरकारले काबुलमा मारिएका नेपालीको शव र घाइते ल्याउन जहाज पठाउने निर्णय गरिसकेको छ ।’
परराष्ट्रमन्त्री कमल थापाका अनुसार जहाज आजै काबुल पठाउने तयारी भइरहेको छ ।
यसअघि इराकमा १२ जना नेपालीको हत्या हुँदा, यमनको गृह युद्धमा फसेका नेपाली ल्याउन भारतले सहयोग गरेको थियो । त्यसैकारण यसपटक पनि नमाग्दा नमाग्दै सहयोग गर्ने आश्वासन मोदीले मौखिक रुपमा आफै दिएको हुनसक्ने ती कर्मचारीको दाबी छ ।
नाम नखुलाउने शर्तमा कुरा गर्न मानेका उनी भन्छन्– ‘तर, सरकारले पहिलोपटक आफ्ना नागरिकको उद्दारका लागि आफ्नै जहाज पठाउने निर्णय गरेपछि अब भारतको सहयोग आवश्यक परेन् । ओली सरकारले पहिलो पटक भारतको सहयोग नलिइ अब नेपाल समक्ष भइसकेको सन्देश दिएको छ ।’
शव तथा घाइते लिन जहाज जाने
सरकारले अफगानिस्तानमा आतङ्कारीको हमलाबाट निधन भएका नेपालीको शव र घाइते लिन जहाज पठाउने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले जहाज पठाइने र त्यसका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । नेपाल वायुसेवा निगमका जहाज आजै त्यसतर्फ जाने र बुधबारसम्म शव र घाइते नेपाल ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । शव तथा घाइते ल्याउनका लागि आज सो मन्त्रालयमा तीनै सुरक्षा निकाय, निगम, स्वास्थ्य मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायतका उच्च पदाधिकारीको बैठक बसेको थियो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जहाज छिट्टै पठाई अफगानिस्तानबाट शव र घाइते ल्याउने तयारी भइरहेको जानकारी दिए । अफगानिस्तानको काबुलमा मङ्गलबार बिहान भएको घटनामा परी १२ नेपालीको ज्यान गएको थियो । सो घटनाप्रति नेपाल सरकारले घोर भत्र्सना र निन्दा गरिसकेको छ । क्यानडाली दूतावासमा कार्यरत उनीहरु त्यसतर्फ मिनीबसमा जाँदै गर्दा मङ्गलबार बिहान ५ः४० बजे आक्रमणकारीको आत्मघाती बम हमलामा परेका थिए ।
घटनामा परेर दिवङ्गत नेपालीको शव स्वदेश ल्याउन तथा घाइतेको उपचार लगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कावा राजदूत त्यसतर्फ पुगिसक्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा तीन हजार नेपाली
अफगानिस्तानमा हाल वैधानिक तीन हजार ३२३ नेपाली कामदार कार्यरत छन् । ती कामदार सुरक्षा गार्डका रुपमा श्रम स्वीकृति लिएर संस्थागत रुपमा विभिन्न वैदेशिक रोजगार संस्था मार्फत अफगानिस्तान गएका वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले बताए ।
ती बाहेक कतिपय नेपाली व्यक्तिगत रुपमा भारत, पाकिस्तान लगायत मुलुक हुँदै गएको हुन सक्ने बताउँदै उनले त्यसको तथ्याङ्क भने विभागसँग नभएको जानकारी दिए । अवैधानिक रुपमा अफगानिस्तान गएका नेपालीको सङ्ख्या यकिन नभए पनि त्यो सङ्ख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।
अफगानिस्तान गएका नेपालीमध्ये कतिपय नेपाल आएर पुनः गएको हुन सक्ने र त्यो सङ्ख्या बढेको देखिने बताउँदै उनले वैधानिक रुपमा हालसम्म गएका नेपालीको सङ्ख्या करिब आठ हजार भएको जानकारी दिए ।
विभागले हालसम्म व्यक्तिगत तवरमा कुनै पनि नेपालीलाई काम गर्नका लागि अफगानिस्तान जान स्वीकृति दिएको छैन । त्यहाँको सरकारको माग अनुसार विभागले विशेष गरी संयुक्त राष्ट्रसङ्घीय एजेन्सी र त्यहाँस्थित कूटनीतिक निकायमा सुरक्षा गार्डका रुपमा पूर्वसैनिक एवम् प्रहरीलाई स्वीकृति दिँदै आएको छ ।













प्रतिक्रिया