३० आश्विन २०८३, शुक्रबार

केन्द्रमार्फत बीस लघुजलविद्युत् परियोजना निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hydroम्याग्दी, ७ असार । धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रमार्फत म्याग्दी जिल्लामा हालसम्म २० वटा लघुजलविद्युत् परियोजना निर्माण भएका छन् ।

वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र राष्ट्रिय ग्रामीण तथा नवीकरण ऊर्जा कार्यक्रमको सहयोगमा लघुजलविद्युत् परियोजना निर्माण भएको हो ।

निर्माण भएका २० वटा परियोजनामार्फत १२४ किलोवाट विद्युत् उत्पादन भई एक हजार २५२ घरधुरी लाभान्वित बनेको संस्थाका सव इञ्जिनियर दीपक थापाले जानकारी दिनुभयो ।

परियोजना निर्माणका लागि संस्थाले रु एक करोड १७ लाख ६१ हजार ४३३ अनुदान दिएको छ । यस वर्ष रुम–७ मा निर्माण भएको ११.५ किलोवाट क्षमताको छेरवाङ पात्लेखोला लघुजलविद्युत् परियोजनाबाट ११० घरधुरी लाभान्वित भएका छन् ।

मल्कवाङमा निर्माणकार्य अन्तिम चरणमा पुगेको ४२ किलोवाट क्षमताको नन्दीवाङखोला लघुजलविद्युत् परियोजनाबाट २२१ घरधुरी लाभान्वित हुने जनाइएको छ ।

कुईनेमङ्गले–१ मा २० किलोवाट क्षमताको मजुवा कुईनेखानी परियोजना निर्माणाधीन अवस्थामा छ । मुदी–९ मा १०.५ किलोवाटको रातोखोला बगर परियोजना निर्माण सुरु गर्ने तयारी भएको छ । शिखमा ३० किलोवाट क्षमताको घोस्तेखोर, ओखरबोटमा ३० किलोवाटको दिप्लीखोला र मुनामा २०० किलोवाटको दरखोला मिनी जलविद्युत् आयोजनाको विस्तृत सर्वेक्षण गरिएको छ ।

सव इञ्जिनियर थापाले हाल निर्माणाधीन र सर्वेक्षण भएका सातवटा परियोजनाबाट ३०२.५ किलोवाट विद्युत् उत्पादन भई एक हजार ८१७ घरधुरी लाभान्वित हुने जानकारी दिनुभयो । सातवटा परियोजना निर्माणका लागि संस्थामार्फत रु पाँच करोड ८८ लाख ९० हजार अनुदानको व्यवस्था गरिने भएको छ ।

केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेको र दुर्गम क्षेत्रमा विद्युत् सुविधा विस्तारका लागि निर्माण भएका लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गरेर आयआर्जनमूलक क्रियाकलाप गर्न पनि संस्थाले सहयोग गरेको छ । रासस