लन्डन, ७ असार । रुसलाई हराउँदै वेल्स फ्रान्समा जारी युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
सोमबार राति भएको खेलमा रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै वेल्स समूह ‘बी’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
खेलको ११ औं मिनेटमा आरोन रास्मीले गोल गर्दै वेल्सलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको २० औँ मिनेटमा टेलरले गोल गर्दै वेल्सको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २–० को अग्रता लिएको वेल्सका लागि खेलको ६७ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै ३–० को जित दिलाए ।
जितसँगै समूह चरणमा तीन खेलमा दुईमा जित र एकमा हार ब्यहोरेको वेल्स ६ अंकका साथ समूह ‘बी’ को विजेता बन्यो ।
वेल्सले समूह चरणको पहिलो खेलमा स्लोभाकियालाई २–१ ले हराएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्डसँग २–१ को हार ब्यहोरेको थियो ।
अन्तिम खेलमा वेल्ससँग पराजित भएपछि रुस भने समूह चरणबाटै घर फर्किन बाध्य भएको छ । समूह चरणका कुनै पनि खेलमा जित निकाल्न नसकेको रुस समूहको पुछारमा छ । रुसले तीन खेलमा एकमा बराबरी र दुईमा हार ब्यहोरेको थियो । – एजेन्सी















प्रतिक्रिया