काठमाडौं, ६ असार । भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले मुलुकको राष्ट्रिय एकताको लागि राजसंस्था अपरिहार्य रहेकोले राजा पुनःस्थापित गर्न आफू मन्त्री पद त्याग्न तयार रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘मन्त्री पदभन्दा मेरो लागि राजसंस्थाको विचार ठूलो हो । प्रधानमन्त्री लगायतका निकायबाट मेरो विचार कुण्ठित गर्ने काम भए हाँसी–हाँसी मन्त्री पद त्याग्छु ।’
मन्त्री सुब्बाले गणतान्त्रिक संविधानको शपथ खाएर मन्त्री भएकोले यस्तो विचार राख्दा प्रश्न उठ्नु स्वभाविक भएपनि संविधान निर्माणमै आफूहरूले यो विषयमा फरक मत राखेको र संविधानले नै विचारको स्वतन्त्रता दिएकोले आफू यस्तो अभिब्यक्ति दिन स्वतन्त्र रहेको दावी गर्दै राष्ट्रिय एकताको लागि सर्वस्वीकार्य नेतृत्वको रुपमा राजसंस्था अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजा, देश र अनेकतामा एकता नेपालको विशेषता हो । यसमा हामी अलमलमा छैनौ । नेपालमा संबैधानिक राजसंस्था, सापेक्ष हिन्दु राष्ट्र र संघीयताको ठाउँमा शक्तिशाली स्वायत्त शासन हुनु पर्छ ।’












प्रतिक्रिया