झापा, ६ असार । झापा जिल्लामा फेसबुकमा साथी बनाएर सर्वसाधारणलाई ठगी गर्ने भारतीयसहित दुई जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ ।
प्रहरीले झापाको शनिअर्जुन–१ का सन्तोष भट्टराई र भारतका माल्दा पुकुरियाका सिनाहुल हकलाई पक्राउ गरेको हो । उनीहरूले विभिन्न विदेशीका नाममा फेसबुक आइडी बनाएर सर्वसाधारणलाई ठगी गर्दै आएका थिए ।
भट्टराई र हकले फेसबुक आइडीमार्फत सर्वसाधारणलाई साथी बनाउने गरेका थिए । त्यसपछि कुनै विदेशी कम्पनीका नाम भन्दै चिठ्ठा परेकाले बैंक खातामा रकम जम्मा गर्न लगाउँदै ठगी गर्दै आएका थिए ।
उनीहरूले लक्की ड्रमार्फत तपार्इंलाई ठूलो परिमाणमा रकम तथा विभिन्न उपहार परेको भन्दै प्रलोभन देखाउने गरेको इप्रका बिर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाले बताउनुभयो ।
एक महिनाअघि उनीहरूले बिर्तामोडकै एक व्यक्तिलाई चिठ्ठा परेको छ भन्दै ठगी गर्न खोजेपछि प्रहरीले उनीहरूको खोजी कार्य सुरु गरेको थियो । पक्राउ परेकामाथि ठगी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको थापाले बताउनुभयो ।












प्रतिक्रिया