जुम्ला, २ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको जिम्मेवारी अब काँग्रेसको काँधमा रहेको बताउनुभयो ।
नेपाली काँग्रेस जुम्लाद्वारा आज आयोजित बृहत् सभालाई सम्बोधन गर्दै सभापति देउवाले मुलुकको संविधान काँग्रेसको नेतृत्वमा बनेकाले त्यसको कार्यान्वयन पनि काँग्रेसले गर्ने जिकिर गर्नुभयो ।
सभापति देउवाले भाषा, संस्कृति र प्राकृतिक स्रोतले सम्पन्न कर्णाली विकास नहुँदा पछि परेको उल्लेख गर्दै भन्नुभयो, “कर्णालीमा विकास गर्न जरुरी छ, त्यही हेतुले कर्णाली विकास आयोगको गठन गरिएको हो । पछिल्लो चरणमा कर्णालीको विकासलाई महत्वका साथ हेरिएको छ ।”
सभापति देउवाले आजै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाननजिकै निर्माण गरिएको काँग्रेस जुम्लाका तत्कालीन सभापति स्व मानव सेजुवालको सालिक अनावरण गर्नुभयो ।
केन्द्रीय सदस्य हृदयराम थानीले छैटौँ प्रदेशको माग नाक्चेनाङ्ला नाका खोल्ने रहेको जनाउँदै राष्ट्रको बजेट काठमाडौँमा होइन, अब कर्णाली केन्द्रित गर्न पहल गरिनेछ भन्नुभयो ।
काँग्रेस नेता धनराज गुरुङले कर्णाली राजमार्ग स्तरवृद्धि र सुर्खेत–दैलेख–कालिकोट–जुम्ला–मुगु गमगढी–नाक्चेनाङ्लासम्मको दुई लेनको सडक निर्माणका लागि पहल गर्ने बताउनुभयो ।
अर्का नेता बद्री पाण्डेले मुलुकको कुनै परिवर्तन वामपन्थीबाट नभई काँग्रेसले मात्र गर्न सक्ने दाबी गर्दै वर्तमान सरकारले जनतालाई दिग्भ्रमित पारेको आरोप लगाउनुभयो ।
आमसभामा संसद् ललितजङ्ग शाही, पूर्वमन्त्री शिवराज जोशी, पूर्वराज्यमन्त्री भक्तबहादुर रोकाया, जुम्ला जिल्लाका तत्कालीन पार्टी सभापति स्व मानव सेजुवालकी धर्मपत्नी कान्तिका सेजुवाल, मुगु, कालिकोट, सुर्खेत र जुम्ला जिल्लाका पार्टी सभापतिको उपस्थिति रहेको थियो । रासस
तस्वीरः बद्री सिग्देलबाट ।












प्रतिक्रिया