डोटी, ३१ जेठ । डोटी जिल्लामा खानेपानीको अवस्थाबारे आधारभूत सर्वेक्षण गर्ने काम शुरु भएको छ ।
युनिसेफको सहयोगमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ (फेड्वासन) नेपाल डोटीले सञ्चालन गरिरहेको खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धनका लागि सहकार्य परियोजना अन्तरगत सर्वेक्षण गर्न लागिएको हो ।
जिल्लामा रहेका खानेपानी योजनाको विस्तृत विवरण सहित आधारभूत सर्वेक्षणको काम भईरहेको फेड्वासनका कार्यक्रम संयोजक सञ्जय दासले बताए । जसका लागि जिल्लाका पचास वटै गाविस र नगरपालीकामा गरि आठ जना लगत संकलकहरु परिचालन गरिएको फेड्वासन डोटीका अध्यक्ष हस्तबहादुर बुढाले जानकारी दिए ।
यतिञ्जेल जिल्लामा खानेपानीको वास्तविक अवस्था कस्तो छ भन्ने विषयमा कुनै आधिकारिक तथ्याङ्क नभएकाले फेड्वासनले गरेको आधारभूत सर्वेक्षणले खानेपानी क्षेत्रमा काम गर्न निकै सहज हुने सरोकारवालाहरुको भनाई छ ।
एक विकट पहाडी जिल्ला डोटीका कतिपय क्षेत्रमा खानेपानी योजनाहरु निर्माण भईसकेका भए पनि केहि योजना मर्मत अभावमा लगानी खेर गएको देखिन्छ भने कतै पानीका मुहान पर्याप्त नहुँदा नियमित सञ्चालन हुन नसकेको देखिन्छ ।
अझैं पनि धेरैजसो गाउँहरुमा मुहान नै नभएकाले खानेपानी विस्तार गर्न सकिएको छैन ।
यसैबिच फेड्वासनले खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धनका लागि सहकार्य परियोजना अन्तरगत डोटीका छ वटा गाविस रानागाउँ, बासुदेवी, दुर्गामाण्डौ, तिाखातर, गगुडा र छतिवनका २१ वटा खानेपानी उपभोक्ता समितिहरुमा खानेपानी सुरक्षा योजना लागु गरेको जनाएको छ ।
जस अन्तरगत ३ दिने खानेपानी सुरक्षा योजना तालिमका साथै सुरक्षा योजना बनाई कार्यान्वयनका लागि प्रत्येक समितिलाई ३० हजारका दरले नगद सहयोग गरेको कार्यक्रम संयोजक दासले बताए ।
साथै सबै खानेपानी योजनाहरुको खानेपानी परिक्षण समेत गरेको उनले बताए ।
त्यस्तै बासुदेवी र छतिवन गाविसलाई पूर्ण सरसफाईयुक्त गाविस बनाउनका लागि काम गरिएको फेड्वाशन डोटीले जनाएको छ । दुवै गाविसमा पूर्ण सरसफाई सम्वन्धी रणनीतिक योजना निर्माणका लागि सहजिकरण गरेको सँस्थाले जनाएको छ । जसमध्ये बासुदेवी गाविसको पूर्ण सरसफाई सम्वन्धी ३ वर्षे रणनीतिक योजना निर्माण भईसकेको र छतिवनको पनि अन्तिम चरणमा रहेको जनाईएको छ ।
ति दुवै गाविसको पूर्ण सरसफाई सम्वन्धी रणनीतिक योजना कार्यान्वयनका लागि नगद ५०÷५० हजार सहयोग गर्ने तयारी समेत रहेको बताईएको छ ।
ति दुवै गाविसका ४÷४ वटा गरि आठ वटा विद्यालयहरुमा पूर्ण सरसफाईबारे तालिम सञ्चालन, बाल क्लबको सक्रियता अभिवृद्धि, विद्यालय सुधार योजना निर्माणमा सहयोग, विद्यालयलाई ‘थ्रि स्टार’ बनाउन सहयोग लगाएतका काम गरेको फेड्वासनले जनाएको छ । जसमा पूर्ण सरसफाईका लागि हार्ड वेयरका सामाग्री सहयोग, शौचालय तथा खानेपानी मर्मत, सेनीटरी प्याड व्यवस्थापनका लागि ईन्सेनीरेटर निर्माण, अपाङ्ग तथा बालमैत्री टि–पी ट्याप निर्माण जस्ता काम पनि सम्पन्न गरिएका छन् ।
युनिसेफसँगको साझेदारीमा फेड्वासनले सञ्चालन गर्दै आएको खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धनका लागि सहकार्य परियोजना नेपालका ८ वटा जिल्लामा लागु भईरहेको छ । यसै परियोजना अन्तरगत फेड्वासन डोटीले गत वर्ष जिल्लाका छ वटा गाविसहरु रानागाउँ, बासुदेवी, तिखातर, गगुडा, छतिवन र निरौलीलाई खुल्ला दिसामुक्त घोषणा गर्न सघाएको थियो ।
युनिसेफसँगको फेड्वासनको यस वर्षको सम्झौता आगामी असार मसान्तसम्मका लागि मात्रै रहेको छ ।
















प्रतिक्रिया