– निशानदाजु भट्टराई
दाङ, ३० जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले पार्टीको १३ औं महाधिवेशनको समयमा खुमबहादुर खड्कालाई उपसभापति बनाउने एग्रिमेन्ट शेरबहादुर देउवासंग भएको खुलासा गरेका छन् ।
देउवाले आन्तरिक किचलोका कारण पदाधिकारी तथा विभाग पूर्णता दिन नसकेको आरोेप लागिरहेको समयमा खड्का निकट मानिने काग्रेस नेता भण्डारीले नेता खड्कालाई उपसभापति बनाएर जाने सहमति भएको र त्यो आवश्यक परे देखाउन समेत तयार रहेको बताए ।
नेपाली कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले भने- ‘महाधिवेशनका क्रममा खुम बहादुरलाई पार्टीको उप सभापति बनाउने गरी भएको सहमतिको अक्षरस पालना गर्न सभापति देउवालाई आग्रह गर्दछु, सहमति पालना नभएर धोका पाए त्यसको परिणाम नराम्रो हुन्छ, यदि त्यसो भएमा देउवाजीको कार्यकाल पनि राम्रोसंग चल्दैन, अन्तत पार्टीलाई घाटा हुन्छ ।’
उनले सहमति कार्यान्वयन नभए सभापति देउवासंग हिसाब किताव गर्नेसमेत चेतावनी दिए । खड्कालाई उपसभापति बनाउने सहमति भएकै कारण आफूहरुले महाधिवेसनमा सभापतिमा देउवालाई जिताएको भन्दै उनले भने- ‘महाधिवेशनमा खड्काले देउवालाई समर्थन नगरेको भए उहाँ पराजित हुनुहुन्थ्यो, तर देउवाले सहमतिलाई लागु गर्छु भनेपछि खड्का समर्थन गर्न तयार हुनु भएको हो, यसलाई कमजोरी ठानिए उहाँलाई नै पार्टी चलाउन अप्ठयारो पर्छ ।’
तत्कालिन पार्टी सभापति स्वर्गीय सुशील कोइरालालाई देउवाले पार्टी चलाउन नसकेको आरोप लगाएको स्मरण गर्दै उनले सहमति कार्यान्वयन नभए त्यो आरोप देउवाले खेप्नुपर्ने समेत बताए ।
राष्ट्रियता भएका नेताहरुको कमी भएका कारण जनताले दुःख पाएको उनले बताए । विदेशी चलखेललाई निस्तेज पारेर राष्ट्रियतालाई आत्मसाथ गरेर काम गर्ने नेतृत्व नहुँदा नेपाली जनताहरुले दुःख पाउने गरेको उनको भनाई छ ।
उनले नेतृत्वले मनोमानी रुपमा काम गर्दा जनताले विना कारण दुःख पाएको धारणा राखे । स्वाभिमान, ईमान्दारिता र राष्ट्रियता नभएको नेतृत्वले देश चलाईरहेकाले देश अहिले अप्ठेरो अवश्थामा रहेको उनको भनाई छ ।
उनले कांगे्रसले गतिलो प्रतिपक्ष भुमिका निर्वाह नगरेको र यसको सम्पूर्ण जिम्मेवारी पार्टीका शीर्ष नेताहरुले लिनुपर्ने उल्लेख गरे ।













प्रतिक्रिया