काठमाडौं, २८ जेठ । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्री तथा पिएसओज रथीबृन्दहरुसंग राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा लगायतका पदाधिकारीहरुबीच शुक्रबार सूचनाको हक सम्बन्धी जंगी अड्डामा छलफल भएको छ ।
कार्यक्रमको शुभारम्भमा सूचनाको हकसम्बन्धी व्यवस्था र नेपाली सेनामा यसको कार्यान्वयनको सम्बन्धमा नेपाली सेनाका जनसम्पर्क निर्देशक सहायक रथी तारा बहादुर कार्कीद्वारा प्रस्तुतिकरण गरिएको थियो । त्यसैगरी, नेपाली सेनामा सूचनाको हक सम्बन्धी कार्यान्वयन भए नभएको सम्बन्धमा निरीक्षण गर्न खट्टिनु भएका पूर्व सचिव आत्माराम पाण्डेले सूचनाको हक सम्बन्धी प्रस्तुतीकरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफ्नो मन्तव्य व्यक्त गर्नुहुंदै सार्वजनिक सरोकारका संस्थाहरुको काम कारबाहीलाई पारदर्शी, खुल्ला, नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन जारी भएको सूचनाको हक सम्बन्धि ऐन २०६४ का विषयमा नेपाली सेना पूर्णरुपमा सू-सूचित रहेको बताउनु भएको छ ।
साथै, संवैधानिक रुपमै व्यवस्था भएको सूचनाको हकसम्बन्धि नागरिकहरुको अधिकारको उच्च सम्मान गर्दै यसप्रति नेपाली सेनाको पूर्ण प्रतिबद्धता रहेको समेत स्पष्ट पार्नु भएको थियो । सोही अवसरमा रक्षा सचिव श्री महेशप्रसाद दाहालले समेत आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सोही अवसरमा राष्ट्रिय सूचना आयोगका सूचना आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनाबाट सूचनाको हकको महत्व र उपयोगिता सम्बन्धमा जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रमको अन्त्यमा प्रमुख सूचना आयुक्तले निर्देशन सहितको समापन मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा रक्षा सचिव श्री महेशप्रसाद दाहाल, नेपाली सेनाका रथीबृन्द, रक्षा मन्त्रालयका सूचना अधिकारी सह सचिव श्री कुलप्रसाद चुडाल लगायत रक्षा मन्त्रालय र राष्ट्रिय सूचना आयोगका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
यस किसिमको समसामयिक छलफलले सूचनाको हक सम्बन्धी व्यवस्था र ऐनका बारेमा थप जानकार हुन सहयोगीसिद्ध भएको एवं आगामी दिनमा समेत यस किसिमका छलफलले निरन्तरता पाउने विश्वास नेपाली सेनाले लिएको छ ।













प्रतिक्रिया