काठमाडौं, २८ जेठ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा आजबाट सुरू भएको दशौँ शैक्षिक मेला गैरकानुनी तवरले सञ्चालन गरिएको भन्दै उजुरी परेको छ ।
इभेन्ट म्यानेजमेन्ट कम्पनीहरूले मेला रोक्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गरेपछि मेलामा लाखौँ घोटला गरिएको खुलेको हो ।
संघले आयोजना गरेको मेला गैर कानुनीभन्दै मेला रोक्न समेत आग्रह गरिएपनि समयको अभाव तथा प्रमुख जिल्ला अधिकारीले मेला सम्पन्न भएपछि छानविन गर्ने आश्वसन दिएको हुँदा मेला भने नरोकिने इक्यानका एक पदाधिकारीले बताए ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा जेठ २७ मा दर्ता भएको उजुरीमा संघले मिति २०७२ चैत २८ गते एक राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी मेला आयोजन गर्नलाई मेला संचालन गर्ने कम्पनी संस्थालाई दरभाउसहित पेश गर्न आब्हान गरेको उल्लेख छ ।
इभेन्ट म्यानेजमेन्ट गर्ने संस्था एर्रे इन्टरनेनल प्रालि, राइज इभेन्टस प्रालि र वान अप इभेन्ट प्रालिले उक्त मेला आयोजना गर्न दरभाउ पेश गरेका थिए ।
दरभाउ पेश गरेका ३ वटा कम्पनीको दरभाउ पत्र गोप्य भनिए पनि संघका पदाधिकारीको मिलेमतोमा ३ जनाको मञ्जुरीविना नै शिल खोली एक अर्काको दरभाउ हेरेर संघका अध्यक्ष प्रकाश पाण्डेले आफू निकटका रवि झाको कम्पनी वान अफ इभेन्ट प्रालिलाई दरभाउ दिएको आरोप छ ।
डेढ वर्ष पहिला मात्र स्थापना भएको वान अफ इभेन्ट प्रालिलाई आर्थिक चलखेलकै आधारमा संघका पदाधिकारीहरूको मिलेमतोमा उक्त व्यवस्थापनको जिम्मा दिएकोले आर्थिक नियमावली २०७२ बामेजिम बोलकबोलका लागि प्रतिष्पर्धा आउने सूचना गरे अनुरुप सो नियमवालीको परिच्छेद ७ दफा ३४ को उपदफा ७ बमोजिम नभएको भन्दै मेला आयोजना रोक्न सिडियोमा उजुरी परेको बताइएको छ ।
झाको कम्पनी एक वर्ष अगाडि दर्ता भएपनि उनले भने पूरानो प्रोफाइल र गलत डकुमेन्ट पेश गरी टेण्डर हात पारेका हुन् । बाहिर हेर्दा झाले इक्यानलाई गत वर्ष भन्दा बढी पैसा तिर्ने शर्तमा टेण्डर हात पारेको देखिएपनि भित्री रुपमा भने उनी र पाण्डेबीच साँठगाँठ देखिएको इक्यान स्रोत बताउँछ ।
पाण्डे र झाको कार्यालय बानेश्वरस्थित एउटै भवनमा रहेको र झालाई टेण्डर दिलाउँदा पाण्डेले लाखौं कमिसन हात पारेपछि इक्यानकै केही पदाधिकारीहरुले नोट अफ डिसेन्ट लेखेर मेला बहिस्कार गरेको एक इभेन्ट कम्पनीका सञ्चालकले बताए ।
मेलामा २०० वटा स्टलका लागि प्रति स्टल ३० हजार(भ्याट बाहेक) का दरले ६० लाख उठाउने शर्तमा वान अपका झाले टेण्डर पाएपनि अहिले भने १०० वटा स्टल थपेर अरु ३० लाख हात पारेका छन् । यो सरासर गलत र गैरकानुनी रहेको इक्यानकै पदाधिकारीहरू बताउँछन् ।
त्यसो त इभेन्ट गर्दा प्रायोजन, स्पोन्सर, टाइटल स्पोन्सर, मुख्य प्रायोजक गरी दर्जनौं कन्सलटेन्सी र विदेशि विश्वविद्यालबाट समेत इक्यानले लाखौं रकम उठाएको छ ।
विज्ञापन खर्चमा आर्थिक नियमावली विपरित अध्यक्ष पाण्डे र मेला संयोजक रमेश वाग्लेको मिलेमतोमा मनपरी खर्च गरिएको इक्यान स्रोतले बतायो ।
चार दिनसम्म चल्ने मेलामा १७ वटा प्याभिलियनबाट प्रति प्याभिलियन झण्डै एक लाख ३० हजारका दरले उठाइएको छ । प्याभिलियन र स्टलको खर्चमा समेत घोटला हुन लागेपछि मेलामा स्टल राख्ने इक्यानका सदस्यहरूले अन्यायमा परेको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।















प्रतिक्रिया