काठमाडौँ, २८ जेठ । श्रम तथा रोजगार मन्त्री दीपक बोहोरा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न कार्यकारी निकायको उच्चस्तरीय बैठकमा भाग लिएर आज स्वदेश फर्कनुभएको छ ।
नेपाल अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सदस्य भएको ५० वर्ष पुगेको छ । सो अवसर पारेर नेपालले आइएलओको कार्यकारी निकायमा सदस्यताका लागि उम्मेदवारी दिएको छ । यसको निर्वाचन सन् २०१७ मा हुनेछ ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री बोहोराले बैठकमा सरकार, रोजगारदाता कम्पनी र श्रमिकबीचको सम्बन्ध सुदृढ तुल्याउन खेल्नुपर्ने भूमिकाका बारेमा नेपालको धारणा राखेको बताउनुभयो । द्विपक्षीय र बहुपक्षीय श्रमसम्बन्धी समस्या र त्यसको निकासका बारेमा पनि सो बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
साथै सदस्य राष्ट्रहरुले रोजगारीका लागि विदेशिने कामदारको श्रम सुविधा, उपयुक्त वातावरण र भावी कार्यक्रमबारे पनि छलफल भएको मन्त्री बोहोराले राससलाई बताउनुभो ।
मन्त्री बोहोराले त्यहाँ रहँदा मरिसस र डेनमार्कका आफ्ना समकक्षीसँग श्रमसम्बन्धी विषयमा केन्द्रित रहेर छलफल गर्नुभएको थियो । रासस
















प्रतिक्रिया