काठमाडौं । तत्कालीन राजा श्री ५ महेन्द्र शाहले भारतको दार्जिलिङबाट अम्बर गुरुङलाई ल्याएर नेपाली कला संस्कृतिको संरक्षण गर्न सक्रिय बनाएका हुन् । सुरुवाती दिनदेखि नै स्वर, संगीत र शब्दका लागि उत्तिकै माहिर मानिएका अम्बर गुरुङको बहुमुखी प्रतिभा देखेर नै श्री ५ महेन्द्रले नेपाल भित्र्याएका हुन् ।
गोरखा जिल्ला पुर्खौली घर भएपनि बाबुको रोजगारीका कारण भारतको दार्जिलिङमा जन्मिएका अम्बर गुरुङ नेपाली भाषाको सरक्षणमा सधै केन्द्रित रहन्थे । महेन्द्रदेखि रानी ऐश्वर्या अर्थात चाँदनी शाहसम्मका गीतलाई सजाएर मिठास भरेका उनै अम्बर गुरुङलाई गणतन्त्रमा प्रवेश गरेको नेपालले राजकीय सम्मानका साथ अन्त्यष्टि गर्नुपरेको छ । यो सुखद् कुरा पनि हो ।
अम्बर गुरुङलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको सरकारले मंगलबार सर्वजनिक विदा दिने आवश्यक्ता ठानेन । बरु प्रधानमन्त्री केपी ओली मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कार्यक्रममा भाग लिन सुर्खेत हान्निए । उनले अम्बर गुरुङको निधन भएको अवसरमा श्रद्धाञ्जलि दिनु र मिठा कुरा गरेर भुलाउने कार्य मात्रै गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शोक सन्देश दिएर आफ्नो दायित्व पूरा गरिन् । तर, उनले पनि सार्वजनिक विदाका लागि कसैलाई दबाब दिएनन् । श्री ५ महेन्द्रले ल्याएका अम्बर गुरुङले नै गणतन्त्र मुलुकको राष्ट्रिय गान ‘सैयौँ थुङ्गा फलका हामी एउटै महाकाली, सार्वभौम भइ फैलिएका मेची माहाकाली’लाई संगीत दिए ।
नेपाली गीतसंगीत अझ लोकलयलाई धेरै महत्व दिने अम्बर गुरुङको शैलीबाट त्यति बेला चलेका गायक नारायण गोपाल सधै चिढिएका थिए । अम्बर गुरुङ र नारायण गोपालबीच लामो समयसम्म बोलचाल नै थिएन । पछि पनि उनीहरूबीच भेट हुँदा औपचारिकतामा मात्रै सीमित हुन्थ्यो । विशेष गरेर नारायण गोपालसहितका केही गायक तथा संगीतकारहरूले अम्बर गुरुङलाई दार्जिलिङ्गे भनेर हेप्ने गरेको अहिले चर्चा हुने गरेको छ ।
धेरै हन्डर खाएर नेपाली संगीतलाई जगेर्ना गर्न सक्रिय अम्बर गुरुङलाई बाचुञ्जेल भरौटे र आसेपासेहरूलाई उच्चस्थानमा कहिल्यै जान दिएनन् । बरु मरेपछि अनेकौ विशेषण जोडेर गुणगान गाइरहेका छन् । यो अत्यन्तै लाजमर्दो कुरा हो । गोरखा जिल्ला पुर्खौली घर भएको थाहा पाउँदा पाउँदै राजधानीको सम्भ्रान्त समुदायले सधै अम्बर गुरुङलाई भारतीय देख्यो । अहिले आएर उनको योगदानलाई कदर गरेकोमा धन्यावाद दिनै पर्छ ।















प्रतिक्रिया