विराटनगर, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दलहरुबीच सहमति भए राष्ट्रिय सरकारको नेतृत्व आफैंले गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयन, आर्थिक समृद्धि, संरचनाको निर्माण, स्थानीय निकायको निर्वाचन र संविधान कार्यान्वयन गराउन पनि प्रमुख दलहरुबीच एकता आवश्यक छ । त्यो एकताको नेतृत्व गर्न तयार छु ।’
विगतमा प्रमुख चार दलबीच १६ बुँदे सहमति भई संविधान निर्माण भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनमा पनि सँगै अघि बढ्न आग्रह गर्नुभयो ।
उहाँले दलहरु सँगै मिलेर धेरै काम गर्नुपर्ने भएकाले नेपाली काँग्रेसलाई वर्तमान सरकारमा सहभागी हुन आग्रह पनि गर्नुभयो ।
उहाँले मधेसी मोर्चाको माग र असन्तुष्टिलाई सम्बोधन गर्न सकिने भएकाले वार्तामा आउन आग्रहसमेत गर्नुभयो । रासस













प्रतिक्रिया