२५ कार्तिक २०८३, बुधबार

यसरी हुँदैछ शेरबहादुर, खुमबहादुर, गोविन्दराजदेखि बिक्रम थापासम्मलाई कारबाहीको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur-Deubaकाठमाडौं, २६ जेठ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का दुई महिला नेतृहरूले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन गृहमन्त्रीद्वय खुमबहादुर खड्का र गोविन्दराज जोशीविरुद्ध कारबाहीको माग गरेर उजुरी दर्ता गराएका छन् ।

माओवादी केन्द्रकी केन्द्रीय सदस्य दामा शर्मा र नेतृ तक्मा केसीले द्वन्द्वकालमा आफ्ना पतिलाई सुरक्षाकर्मीले हत्या गरेको दाबी गर्दै तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री एवम् प्रहरी अधिकारीहरूविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

तक्मा केसीले आफ्ना पति कृष्ण सेनको हत्यामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन गृहमन्त्री खुमबहादुर खड्का, तत्कालीन डिएसपीद्वय अमरसिंह शाह र बिक्रम थापाबिरुद्ध किटानी जाहेरीसहित मंगलवार सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराउनु भएको हो ।

तक्माले तत्कालीन प्रहरी प्रमुख आई.जी.पी.प्रदीप शम्शेर जबरा, तत्कालीन यूनिफाईड कमाण्डका सेनाका कमाण्डर, डिएसपी बिक्रम थापा, तत्कालीन जिल्ला प्रशासन कार्यालयका प्रमुख आदिलाई हदैसम्मको कारबाहीको माग गर्नुभएको छ । तक्माले किशोर श्रेष्ठ, संगीता खड्का, प्रभात चलाउने, अतिन्द्रकेशरी न्यौपानेलाई साँक्षी राख्नुभएको छ ।

‘मेरो श्रीमान कृष्णबहादुर सेन इच्छुकलाई २०५९ जेठ ०६ मा काठमाडौं जिल्ला वडा नं. १० ह्वाईटहाउस कलेज नजिकैबाट पक्राउ गरी मिति २०५९जेठ १३ मा हत्या गरिएको र सो को जानकारी मिति २०५९ असार १२ मा जनआस्था साप्ताहिक तथा अन्य सञ्चारमध्यमबाट जानकारीमा आएको तत् तहका पदाधिकारीहरूको संलग्नता र तत्कालीन यूनिफाईड कमाण्डको ठाडो आदेशमा उक्त घटना भएको उक्त हत्यामा तत्कालीन यूनिफाईड कमाण्डमा रही कार्य गर्ने सेना तथा प्रहरीका अधिकृत तहका कर्मचारी समेतले हत्या पश्चात परिवारका सदस्यहरूलाई लाश नबुझाई प्रहरी आफैले लाश बेपत्ता पारेका हुन्’, तक्माले आफ्नो उजुरीमा भन्नुभएको छ ।

माओवादी केन्द्रकी केन्द्रीय सदस्य पूर्व सभासद दामा शर्माले पनि आफ्ना पति यज्ञश्वर शर्माको हत्या भएको भन्दै तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीसहितका दोषीलाई कारवाहीको माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराउनुभएको छ ।

रुकुमको नुवाकोट गाबिस घुघुतीमा स्थाइ घर भएका यज्ञश्वरलाई बलिया– ३ कौवापुर कैलालीबाट २०५५ साल भदौ १७ गतेका दिन बिहान नौ बजे गिरफ्तार गरी अन्य दुई जना साथीसँगै सामूहिक रुपमा हत्या गरेको केन्द्रीय सदस्य शर्माले दाबी गर्नुभएको छ ।

‘२०५५ साल भदौ १७ का दिन बिहान ६ बजे गिरफ्तार गरी तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीको ठाडो आदेशमा नजिकैको जंगलमा लगी ३ घण्टासम्म अमानवीय ढंगले चरम यातना दिई रुखमा बाँधी बिहान ९ बजे गोली हानी हत्या गरेको हो’, केन्द्रीय सदस्य शर्माले आफ्नो उजुरीमा लेख्नुभएको छ, ‘किलोसेरा टु अपरेशनको नाममा तत्कालीन एस.पी. षडानन्द कुर्मीको नेतृत्व र ठाडो आदेशमा प्रहरी टोली, डिएसपी र उक्त गोली हान्ने कार्यमा संलग्न प्रहरी कर्मचारीमा तत्कालीन स.ई. पदमा कार्यरत डम्बरबहादुर शाह र सोही पदका मोहननाथ योगी, तत्कालीन प्रमुख जिल्ला अधिकारी ताना गौतम र मतियारको रुपमा सोही गाउँका गौरीप्रसाद उपाध्याय समेतको प्रत्यक्ष र परोक्ष रुपमा सहभागी भै उक्त अमानवीय रुपले सामूहिक रुपमा (नुवाकोट गा.वि.स.वडा नं. ७, घुघुती, रुकुमका यज्ञश्वर शर्माका साथै, बलिया गा.वि.स.वडा नं.३ का भिम बहादुर भाट तथा मंगलसेन गा.वि.स.वडा नं.२ अछामका टंक बोगटी) समेतलाई एकै साथ हत्या गरिएको छ ।’

द्वन्द्वकालका घटनालाई मिलाउने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोगले पीडित पक्षसँग निवेदन माग गरेको छ । सोही अनुसार पीडितहरूलाई दोषीलाई कारबाही र क्षतिपूर्तिको मागसहित उजुरी दिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री देउवासहित सुरक्षाकर्मीहरूविरुद्ध माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले नै धमाधम उजुरी दिन थालेपछि राजनीतिक वातावरण विथोलिने हो कि भनेर चिन्तासमेत गर्न थालिएको छ ।