ओखलढुंगा, २५ जेठ । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले नेकपा माओवादी केन्द्रका पूर्व सांसद बालकृष्ण ढुंगेललाई पक्राउ गरी जेल हाल्न माग गरेका छन् ।
मंगलबार युवा संघ नेपाल ओखलढुंगा जिल्ला कमिटीको आयोजनामा भएको कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै पहारीले संविधानसभाको पहिलो निर्वाचनमा ओखलढुंगाबाटै सभासद् बनेका ढुंगेललाई पक्राउ गरी तुरुन्त कारवाही गर्न माग गरे ।
उनले यस विषयमा कारवाही प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्ति बस्नेतलाई दबाब दिने र पीडितलाई न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता जनाए ।
ढुंगेललाई ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा जिल्ला अदालतले २०६१ साल तथा सर्वाेच्च अदालतले २०६६ सालमा दोषी ठहर गरी सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएपनि सरकार र स्थानीय प्रशासनले फैसला कार्यान्वयन गरेको छैन् ।
हाल सरकारमा एमाओवादीकै गृहमन्त्री रहेका बेला युवा संघका अध्यक्ष पहारीले ढुंगेलकै जिल्ला पुगेर उनलाई कारबाही गर्न माग गरेका हुन् ।
यसैबीच अध्यक्ष पहारीले प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका कारण राष्ट्रियता खतरामा परेको आरोप लगाए । देउवाको सत्ता लिप्सा र भारतप्रतिको भक्तिभावले राष्ट्रियता संकटमा परेको आरोप लगाउँदै उनले भने– ‘अहिले राष्ट्रियता संकटमा परेको छ भने त्यो कांग्रेसकै कारण हो ।’
ओखलढुंगा क्षेत्र नं–१ का सासंद यज्ञराज सुनुवार, नेता किशोर अधिकारीलगायतको उपस्थिति रहेको प्रशिक्षणमा बोल्दै पहारीले तरार्इमा बजेटको कार्यान्वयनका लागि युवा संघले अभियान सन्चालन गर्ने पनि जानकारी दिए ।
उनले युवा संघ नेपालले चलाएको राष्ट्रियता र स्वाधिनताको आन्दोलन सफल भएको भन्दै बजेटले सबै क्षेत्र र समूदायलाई समेटेको दावी गरे । ‘एमाले नेतृत्वको सरकारले ल्याएको बजेट लोकप्रिय र जनमुखीले भएकाले कांग्रेस अत्तालिएको हो,’ उनले भने ‘यो बजेटले युवाहरुको भविष्यको रेखा कोर्नेछ ।’
कार्यक्रममा यज्ञराज सुनुवार,किशोर अधिकारीसँगै युवा संघ उपाध्यक्ष रमेश पौडेल सचिव नरेश शाही, माधब बास्तोला, प्रवक्ता प्रभात बिक्रम कटवाल लगायतले बोलेका थिए ।













प्रतिक्रिया