काठमाडौँ, २४ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशका ठूला जलविद्युत् आयोजनाबाट सरकार र जनताको संयुक्त लगानीमा ऊर्जा उत्पादन गरी राष्ट्रको विकास तथा जनताको समृद्धि कायम गर्न सकिने बताउनुभएको छ ।
युवा सङ्घ नेपालद्वारा आज आयोजित ‘बजेट कार्यान्वयन, अवसर, चुनौती र समाधानका उपाय’ विषयको अन्तक्र्रियामा मन्त्री पौडेलले त्यसका लागि सरकारको ५१ तथा सर्वसाधारण जनताको ४९ प्रतिशत सेयर लगानी गर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अब जनताले आफ्नो गाउँ, ठाउँको विकासका लागि सिंहदरबार धाउन पर्दैन, स्थानीय क्षेत्र निर्माणका लागि सम्बन्धित जिविस तथा गाविसमार्फत जनताले आफैं गर्न सक्ने छन् ।” मन्त्री पौडेलले उद्यमशील युवालाई लक्ष्य गरी उनीहरुको परियोजनाका आधारमा ऋणको व्यवस्था गरिएको बताउँदै व्यावहारिक र वस्तुनिष्ठ योजना भएमा सरकारले बिनाधितो ऋणको व्यवस्था गर्ने प्रस्ट पार्नुभयो ।
सो अवसरमा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी र सुरेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय योजना आयोगका सदस्य डा सुमित्रा अमात्य, अर्थविद् डा पुष्पराज कँडेल लगायतले बजेट ठूलो आकारको देखिए पनि यो राष्ट्र निर्माणका लागि केन्द्रित रहेकाले यसको कार्यान्वयनमा जोड दिनुभयो । रासस
















प्रतिक्रिया