२५ कार्तिक २०८३, बुधबार

नयाँ सरकारका विषयमा कांग्रेस र माओवादीका यस्ता छन् दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Leadersकाठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले शक्ति सन्तुलनको लागि भएपनि नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने माग गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता यादवले नेकपा (एमाले) र माओवादी केन्द्रले मुलुकको महत्वपूर्ण पद सम्हालिरहेको उल्लेख गर्दै कांग्रेस ठूलो संसदीय दल भएको कारणले पनि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताउनुभयो । यादवले भन्नुभयो, ‘शेरबहादुर देउवाबाहेक अरु नेताले मुलुकको निकास दिनै सक्दैनन्, विगतमा पनि उहाँले मिलिजुली सरकारको नेतृत्व कुशल रुपमा गरिसक्नुभएको छ, त्यसैले अब बन्ने सहमतिको सरकार पनि उहाँकै नेतृत्वमा बन्नुपर्छ, यसमा काँग्रेस एक छ, हामीभित्र कुनै विवाद छैन ।’

नेता यादवले देउवाको नेतृत्वमा सहमतीय सरकार गठन भए मधेशको समस्याको समाधान समेत हुने बताउनुभयो । आन्दोलनरत मधेसी मोर्चामात्रै नभएर छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायले समेत देउवालाई नै विश्वास गर्ने नेता यादवले दाबी गर्नुभयो ।

नेकपा (एमाले)का नेता केशव बडालले प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभयो । नेता बडालले ओलीको नेतृत्वमा सरकार बनाउँदा नै मुलुक र जनताको हित हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमिकतालाई मजबुद बनाउन पनि ओलीजीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ ।’

नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता दीनानाथ शर्माले राष्ट्रिय सहमतिको सरकारमा मात्रै प्रचण्ड प्रधानमन्त्री बन्ने बताउनुभयो । सहमति नभए केपी ओलीजीलाई नै निरन्तरता दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहमतिको सरकार गठन भएमात्रै हाम्रो अध्यक्ष प्रधानमन्त्री बन्नुहुन्छ, अन्यथा बहुमतीय सरकारको नेतृत्वमा हामी जाँदैनौ ।’

तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले राष्ट्रिय सहमतिको सरकार मधेसी मोर्चाको लागि हर्ष न विष्मात् भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो माग पूरा नभएसम्म सरकार गठनबारे कुनै चासो छैन, सहमतिको सरकार गठन गर्ने विषय हाम्रो लागि कागलाई बेल पाक्यो, हर्ष न विष्मात् जस्तै हो ।’