१ कार्तिक २०८३, आइतबार

अन्ठाउन्न सहकारी संस्था खारेजीको सूचीमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahakari-pasalइलाम, २१ जेठ । सहकारी डिभिजन कार्यालयले निष्क्रिय अवस्थामा रहेका, लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने तीन जिल्लाका ५८ वटा सहकारी संस्थाको दर्ता खारेजको प्रक्रिया अघि बढाएको छ ।

कार्यालयले इलामका २१, ताप्लेजुङका २० र पाँचथरका १७ वटा सहकारी संस्था खारेजीको प्रक्रिया अघि बढाएको हो । खारेजी प्रक्रियामा रहेका सहकारी संस्थाहरूमा कृषि, बहुउद्देश्यीय, बचत तथा ऋण, विद्युत्, दुग्ध, भेडापालन, चिया, अलैँची र उपभोक्ता संस्था रहेका छन् ।

विगत दुई वटा आवदेखि आर्थिक कारोबारको विवरण तथा साधारणसभाको प्रतिवेदन नियमित रूपमा रजिष्ट्रारको कार्यालयमा पेस नगरेको, लेखा परीक्षण पेस नगरिएको, कार्यालय सञ्चालन नगरिएकाले सहकारी संस्था खारेजीको प्रक्रिया अघि बढाइएको सहकारी डिभिजन कार्यालयकी सहकारी निरीक्षक प्रमिला पौडेल (भण्डारी)ले बताउनुभयो । सहकारी संस्थालाई बारम्बार मौका दिए पनि कार्यालयमा कागजात पेस नगरेकाले खारेजीको प्रक्रिया अघि बढाइएको हो ।

सहकारी ऐन–२०४८ मा प्रत्येक सहकारी सङ्घसंस्थाले गरेको कारोबारको विवरण तथा अन्य विवरण तोकिएको समयभित्रमा रजिष्ट्रार कार्यालय समक्ष पेस गर्नुपर्ने प्रावधान छ । यस्तै सहकारी ऐनको दफा ३४ बमोजिम डिभिजन सहकारी कार्यालयमा विवरण पेस गर्नुपर्ने हुन्छ ।

सहकारी डिभिजन कार्यालयले खारेजीको सूचीमा परेका सहकारी संस्थाको स्थानीय पत्रपत्रिकामा ३५ दिने सार्वजनिक सूचनामार्फत सम्पर्क गर्न अनुरोध गरे पनि चार÷पाँच वटा सहकारीले मात्र विवरण पेस गरेका बताइएको छ ।

यसैबीच इलामको आमचोकस्थित महिला पासाङल्हामु बहुउद्देश्यीय सहकारी संस्थाका लागि स्थानीय थेगिम परिवारले रु चार लाखको जग्गा दान गर्नुभएको छ । सहकारी संस्थाको भवन निर्माणका लागि डम्बर थेगिम र यारबहादुर थेगिमले संयुक्त रूपमा चार आना जग्गा दान गर्नुभएको उक्त संस्थाका अध्यक्ष गोमादेवी पाण्डेले जानकारी दिनुभयो । रासस