
– झलक पाली
डोटी, २१ जेठ । डोटीका एमाले ईन्चार्ज एवं व्यवस्थापिका सांसद प्रेम आलेमगर र कान्तिपुर दैनिकका डोटी सम्वाददाता मोहन शाहीबीच फेसबुकमा जुहारी चलेको छ ।
नेपाल सरकारले यहि जेठ १५ गतेका दिन आर्थिक वर्ष २०७३–०७४को बजेट भाषण सार्वजनिक गरेपछि पत्रकार शाहीले डोटीको दिपायल विमानस्थलका लागि बजेट नपरेपछि ‘विमानस्थल नपरेकोमा आक्रोश’ शीर्षकमा कान्तिपुर दैनिकमा समाचार लेखेका थिए ।
समाचारमा डोटीका सांसद प्रेम आलेमगरले दिपायल विमानस्थलका बारेमा विभिन्न समयमा धेरै बजेट पास गराएको भाषण अनुसार बजेट नपरेको कुरा समेट्न खोजिएको छ ।
समाचारमा भनिएको छ –‘डोटीका सांसद प्रेम आलेमगरले तारा एअरलाईन्सको विमानमा पर्यटन मन्त्रीलाई दिपायलमा उतारे । सांसद आलेले डोटेलीको मागलाई ध्यानमा राखेर निजि विमानलाई नियमित गर्ने गरी पर्यटनमन्त्रीलाई ल्याएको बताए । उनले प्रत्येक शनिबार विमान चल्ने तालिका सार्वजनिक गरे । टिकट सेन्टर पनि स्थापना भयो । दोश्रो शनिबार पनि यति एयरलाईन्सको विमान सांसद आलेमगर र केहि यात्रु बोकेर आयो । तर त्यसपछि पनि विमान आउन छाडेको छ ।’
समाचारमा समेटिएको विषय साँचो भएपनि ‘पर्यटनमन्त्री’ उल्लेख गरिएको कुरा भने सत्य होईन । किनकी गएको फाल्गुन २१ देखि ३० सम्म दिपायलमा सम्पन्न सुदूरपश्चिम क्षेत्रीय महोत्सवको उद्घाटन गर्न उद्योगमन्त्री सोमप्रसाद पाण्डे सांसद आलेमगरले चार्टर गरेर ल्याएको तारा एअर विमानमा आएका थिए ।
त्यस्तै सांसद आलेमगरलाई केन्द्रित गरि लेखिएको कान्तिपुरको समाचारमा आलेले भाषणमा समेट्दै आएका सडक क्षेत्रमा पनि बजेट नपरेको विषय पनि समेटिएको छ ।
आलेमगरले जिल्लामा पुगेका बेला गर्दै आएका भाषणमा समेटिएको योजना र बजेट सरकारी बजेट भाषणबाट आधारभुत क्षेत्रमा पनि नसमेटिएपछि स्थानीयमा असन्तुष्टी बढेको कुरामा समाचार केन्द्रित छ ।
समाचारमा भनिएको छ –‘दिपायल–विपीनगर–धनगढी फास्ट ट्रयाक र बोगटान सडकलाई यो वर्ष पनि प्राथमिकतामा नराख्दा सभासदप्रति बढी आक्रोश बढेको छ ।’
यो समाचार सार्वजनिक भए लगत्तै यहि जेठ १८ गते साँझ ७ बजेर ५५ बजे सांसद आलेमगरले आफ्नो फेसबुक वालमा समाचारप्रति टिप्पणी गर्दै समाचार कपोलकल्पित भएको र समाचारले पत्रिकाको समेत गरिमा घटाएको भन्दै स्टाटस लेखेका छन् ।
सांसद आलेले दिपायल विमानस्थलको १५ दिनमा पि.क्यू. टेण्डर खुल्न गईरहेको, दिपायल–चवराचौतारा सडकमा ४० करोड, खुटिया–दिपायल फास्ट ट्रयाकमा १५ करोड, समुहगाड–नापानी–चिर्किट्टे–मान्नाकापडी सडकमा १० करोड बजेट विनियोजन भईसकेको र अन्य साना तथा मझौला योजनामा असंख्य बजेट विनियोजन गराईसकेको दावी गरेका छन् ।
डोटी आएका बेलामा २ सय करोड बजेट डोटीमा आफुले विनियोजन गराईसकेको सार्वजनिक भाषण छाँट्दै आएका सांसद आलेमगर कान्तिपुरको समाचारले यति बेला विवादित बनेका छन् ।
यस लगत्तै कान्तिपुरका डोटी समाचारदाता शाहीले सांसद आलेलाई सम्वोधन गर्दै ‘तपाईंको प्रतिक्रिया पढें, खुशी लाग्यो । तपाईंको स्टाटसमा मेरो व्यक्तिगत जीवनमै आँच आउने गरि लेखिएको टिप्पणी पनि पढें ।’ लगायतका भनाईहरु समेट्दै आफ्नो फेसबुक वालमा फेहरिस्त तयार गरि पोस्ट गरेका छन् ।
फेसबुक जुहारीकै क्रममा पत्रकार शाहीले सांसद आलेमगरलाई ‘तपाईं सभासद भएपछि विमानस्थल सुचारुका लागि लाग्नुभएको होला, म त्योभन्दा पहिले नै लागिसकेको अभियन्ता हुँ’ भनेका छन् ।














प्रतिक्रिया