काठमाडौं, २१ जेठ । मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनले जेठ २५ गतेदेखि सुरू हुने खुलामञ्चको रिले अनशनलाई व्यवस्थित र प्रभावकारी बनाउन अहिले दैनिक सरह बैठक तथा छलफलहरू गर्दै आएको छ ।
अनशनमार्फत सरकारलाई दबाब दिएर संविधान पुनर्लेखनको माग पूरा गराउने सोँच राखेको गठबन्धनको केन्द्रीय सचिवालयले पनि आफ्नो तयारीलाई तीब्र बनाएको छ ।
सचिवालय सदस्य तथा राष्ट्रि मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जेठ २५ गतेदेखिको रिले अनशनसहितको आन्दोलनलाई सांस्कृतिक कार्यक्रमसहित व्यवस्थित बनाइने बताउनु हुन्छ । ‘रिले अनशनको तयारीमा दैनिक सरह छलफल गर्दै आएका छौँ’, उहाँले भन्नुभयो, ‘सविचलयको बैठकमा व्यवस्थापनकै विषयमा छलफल हुनेछ ।’
रिले अनशनमा गठबन्धनले प्रत्येक दिन कम्तिमा एकजना शीर्ष नेतालाई राख्ने तयारी पनि गरेको छ । अनशनस्थलमा युवा र विद्यार्थीलाई स्वयं सेवकका रुपमा परिचालन गर्ने तयारी गरेको गठबन्धनले वौद्धिक क्षेत्रका व्यक्तिलाई बोलाएर सम्बोधन गर्न लगाउने रामसपाका प्रवक्ता झाले बताउनुभयो ।
यसैबीच, गठबन्धनको सचिवालयको बैठक आज पनि बस्दैछ । बैठकमा रिले अनशनकै व्यवस्थापन र तयारीका विषयमा छलफल हुनेछ ।












प्रतिक्रिया