
काठमाडौँ, २० जेठ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले चावहिल–जोरपाटी–साँखु सडक विस्तारका लागि केन्द्रबाट दायाँबायाँ दुवैतिर ११-११ मि सडक सीमा चिह्न लगाउने काम सम्पन्न गरेको छ ।
साविकबाट दायाँबायाँ दुवैतिर सडक बढाउन चिह्नबीचका संरचना हटाउन स्थानीयवासीलाई सूचना दिने उद्देश्यले महानगरपालिका एवम् नगरपालिकाले माइकिङ सुरु गरेको प्राधिकरणले जनाएको छ ।

हाल केन्द्रबाट दायाँबायाँ दुवैतिर ९-९ मि रहेको चावहिल–जोरपाटी–साँखु मूल सडकलाई दुवैतिर ११-११ मि बढाई २२ मि को सडक बनाउन लागिएको प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारीले जानकारी दिनुभयो ।
विसं २०४५ माघ १३ गतेको ‘गोरखापत्र’ दैनिकमा तत्कालीन काठमाडौँ उपत्यका नगर विकास कार्यान्वयन समितिले सूचना प्रकाशित गरी केन्द्रबाट दायाँबायाँ दुवैतिर ११-११ मि छोड्न जानकारी गराइएको प्राधिकरणले जनाएको छ । सूचना प्रकाशित गरेर जानकारी गराएपनि त्यसबेला कार्यान्वयन भएको थिएन ।

यो सूचना कार्यान्वयन नभएपछि विसं २०४५ देखि नै उपत्यकामा अव्यवस्थित घर थपिएको आयुक्त तिवारीले बताउनुभयो ।
“सरकारले सडक मापदण्ड विसं २०४५ साउन २९ गते बनाइएको हो । राजमार्ग र चक्रपथमा केन्द्रबाट दायाँबायाा दुवैतिर २५-२५ मि, यसबाहेकका मूल सडकमा केन्द्रबाट दायाँबायाँ दुवैतिर ११-११ मि कायम गरेको हो, यही मापदण्डअनुसार अहिले हामी सडक बढाउँदैछौँ”–उहाँले भन्नुभयो ।
चावहिल–जोरपाटी–साँखु करिब १४ किमी सडकमा चिह्न लगाई स्थानीयवासीलाई संरचना भत्काउन अनुरोध गरिएको छ । संरचना नभएका खाली स्थानमा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बाटो बढाउने काम सुरु गरेको छ । सरकारले मापदण्ड तोक्नुअघि निर्माण भएका संरचनाका धनीलाई मुआब्जा दिइने प्राधिकरणले जनाएको छ । रासस















प्रतिक्रिया