काठमाडौं, २० जेठ । डिभिजन खेलिरहेको नेपालका लागि टेस्ट क्रिकेट खेल्न पाउनु ठूलो सौभाग्य हुनेछ ।
अहिले डिभिजन खेलिरहेको नेपाललाई त्यहाँ पुग्न अझै धेरै समय लाग्ने देखिन्छ । तर, क्रिकेटको सर्वाेच्च निकाय आईसीसीले नेपालका लागि टेस्ट खेल्न ढोका खोलिदिँदैछ ।
यो ढोका नेपालका लागि मात्रै होइन् नेपालजस्तै एसोसियट राष्ट्रका लागि खुल्दैछ ।
आईसीसीका प्रमुख डेभिड रिचार्डसनले अब टेस्ट क्रिकेटमा पनि रेलिगेसन र प्रमोशनको नियम लागु गर्ने बताएका छन् । उनले यो योजना सन् २०१९ भित्र लागू गरिने जानकारी विहीबार दिएका छन् ।
क्रिकेटसम्बन्धि गतिविधि र समाचार दिने प्रमुख सञ्चारमाध्यम क्रिक इन्फोमा प्रकाशित समाचारमा रिचार्डसनले सन् २०१९ सम्म टेस्ट क्रिकेटमा दुईवटा डिभिजन हुने बताउँदै पहिलो डिभिजनमा अहिले टेस्ट मान्यता पाएका १० राष्ट्र हुने र दोस्रो डिभिजनका लागि सम्भावित नयाँ टोलीहरुको पहिचान केही साताभित्र गरिने जनाएका छन् ।
आईसीसीले सन् २०१८ मा अर्को अलग टी २० विश्वकप समेत आयोजना गर्ने तयारी गरेको जानकारी दिँदै उनले श्रीलंका, दुबई वा दक्षिण अफ्रिकामा हुने प्रतियोगितमा बढीमा १६ टिम सहभागी हुने बताए । ‘यस विषयमा आईसीसीको ब्रोडकास्टिंग पार्टनर स्टारसँग छलफल गरेर टुंगो लगाउछौं’ उनले भने ।
रिचार्डसनले नेपाल, आयरल्याण्ड र अफगानिस्तानजस्ता देशलाई टेस्ट मान्यता दिएर दोस्रो डिभिजनमा खेलाउने योजना आईसीसीको रहेको सुनाए ।
















प्रतिक्रिया