काठमाडौं, १९ जेठ । राष्ट्रिय फुटबलर विमल घर्तीमगरले बहिनी मनिषा घर्तीको न्यायका लागि लड्ने बताएका छन् ।
घटना भएको एक हप्ता वित्न लाग्दा पनि हत्यारालाई कारवाही नभएपछि बुधबार सामाजिक सञ्जाल फेसबुकमा भावुक सन्देश लेख्दै विमलले सानो छँदा बाबु गुमाएको पीडा भुल्न नपाउँदै अहिले बहिनी गुमाउँदा झन पीडा थपिएको उल्लेख गरेका छन् ।
‘बुवाले यो देशका लागि लड्नुभयो । र हामीलाई छाडेर जानुभयो । विस्तारै त्यो पीडा भुल्दै जाँदा १० वर्ष भएको थियो । आज अर्काे पीडा थपियो, मेरो परिवारबाट देशका लागि बुवाले कति गर्नु भो अनि मैले पनि देशका लागि कति गरे तर, हाम्रो घरमा यस्तो हुँदा सरकारले केहि गरेन्’ उनले आक्रोश पोख्दै लेखेका छन्– ‘हिजो देशका लागि बुवा र म लड्यौ । अब म बहिनीका लागि लड्छु ।’
विमलको यस्तो भावुक सन्देशपछि उनका फ्यानले उनलाई एक्लो महसुस नगर्न आग्रह गर्दै सारा नेपाली तिम्रो साथमा रहेको भनेका छन् ।
स्मरण रहोस विमलका बुवा नेपाल प्रहरीका हवल्दार थिए । उनको विमल सानै छदा दुर्घटनामा मृत्यु भएको थियो ।
यस्तो छ विमलको भावुक फेसबुक स्टाटसः
सानो छँदा बाबु गुमाए । बाबु पनि देशका लागि लड्नु हुन्थ्यो । विस्तारै त्यो पीडा भुल्दै जाँदा १० वर्ष भएको थियो । आज अर्काे पीडा थपियो । मेरो फ्याम्ली (परिवार)मा बाबुले नि देशका लागि कति गर्नुभो अनि मैले पनि देशका लागि कति गरे । तर, मेरो घरमा यस्तो हुँदा सरकारले केही गरेन भने यो देशको लागि गरेर के काम । आज एउटा देशको लागि गर्ने मान्छेलाई सुरक्षा छैन् भने अरु आम नेपाली जनता कसरी बस्नु यो नेपालमा । मेरो बहिनीको हत्या गर्ने मान्छेलाई कारवाही भएन भने यो देशका लागि के गर्नु ? आज म रोइरहेको छु भोली अरु कोही रोइरहेको होला । मलाई सबैको साथ चाँहिएको छ । हिजो देशका लागि लडे, अब बहिनीका लागि लड्छु ।’














प्रतिक्रिया