– टेकराज भण्डारी
अछाम, १७ जेठ । नेपाल राष्ट्रिय शिक्षक संगठनको सेती अञ्चलस्तरीय संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रम पर्यटकीय क्षेत्र खप्तडमा विभिन्न निर्णय गर्दै सकिएको छ ।
जेठ १४ देखि १६ गतेसम्म खप्तड यात्राका रुपमा भ्रमण गरि बैठक तथा प्रशिक्षण गरिएको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका अध्यक्ष नरबहादुर रावलको अध्यक्षतामा भएको बैठकले सुदूरपश्चिमको भूस्वर्गका रुपमा रहेको खप्तड क्षेत्रको उचित विकास तथा पर्यटन प्रवर्द्धनका लागि सेती अञ्चलका पाँच ओटै जिल्लाका संगठनले नेपाल सरकार र सम्बन्धित निकायलाई एकै दिन संयुक्तरूपमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
यस्तै स्थानीय पाठ्यक्रममा खप्तड क्षेत्रको बारेमा विषयवस्तु समेट्न जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाई पाठ्यक्रम निर्माणमा सहयोग र्पुयाउने निर्णय गरेको छ । कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय महासचिव लक्ष्मण शर्माले शिक्षा र समाज एक अर्काको परिपुरक भएकोले पर्यटन प्रवर्द्धनका लागि गरिएको प्रयास सह्रानीय भएको बताउनुभयो ।
शिक्षक संगठनले गुणस्तरीय शिक्षाको लागि र शिक्षकको हकहितका लागि स्थापना काल देखि नै शशक्त रुपमा काम गरिरहेको बताउनुभयो । पछिल्लो शिक्षा ऐन संशोधनले शिक्षकको अधिकारका लागि आवाज उठाएको र अब कक्षाकोठाको शिक्षण सिकाई सुधारका लागि पनि प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका बिशिष्ठ अतिथि एमाले जिल्ला अध्यक्ष तथा पूर्व सभाषद शेरबहादुर कुँवरले शिक्षकहरु समाज परिवर्तनका बाहक र समाजलाई चेतना दिने वर्ग भएकोले खप्तडमा भएको बैठकले यस क्षेत्रको बारेमा प्रचारप्रसार तथा प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
खप्तड क्षेत्र पर्यटनका लागि महत्त्वपूर्ण क्षेत्र भएको र यसको प्रवर्द्धनबाट देशकै आर्थिक सम्बृद्धिमा टेवा पुग्ने उहाँको भनाइ छ । पर्यटन प्रवर्द्धनमा शिक्षकको ऐक्यवद्धता, गुणस्तरीय शिक्षामा शिक्षक संगठनको प्रतिबद्धता भन्ने नाराका साथ सेती अञ्चलका पाँचओटै जिल्लाका शिक्षक संगठनका अगुवा शिक्षकहरुको सहभागितामा खप्तड यात्रा तथा बैठक गरिएको हो ।
आन्तरिक पर्यटन प्रवद्र्धनका साथै खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धनमा यात्राले टेवा पुग्ने र आफुले देखे भोगेका अनुभव विद्यार्थीलाई जानकारी गराउने यात्रामा सहभागी शिक्षकहरूले बताएका छन् ।
भेला तथा बैठकका निर्णय पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने शिक्षक संगठनका उपाध्यक्ष लोकराज न्यौपानेले बताउनुभयो ।
सुदूरपश्चिमको भूस्वर्गका रुपमा रहेको खप्तड डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल हो । त्यहाँ खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यस वरपर २२ वटा पाटन अर्थात ठुला मैदान रहेका छन् ।
खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, शहस्रलिंग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगा, घोडा दाउने मैदान, जस्ता धार्मिक, पर्यटकीय क्षेत्र निकै प्रख्यात स्थल हुन् । २५ ओटा मैदान अर्थात फाँट, ५३ ओटा थुम्का, ताल तलैयाहरु, प्राकृतिक सौन्दर्यता, विभिन्न जडिबुटीको खप्तड क्षेत्र भण्डार हो ।
खप्तड यात्रामा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्यीय तथा अञ्चल ईन्चार्ज कर्ण बहादुर भण्डारी, केन्द्रीय सदस्य ममता शाह, तुला थापा, बाजुरा जिल्ला अध्यक्ष खडक शाह, कैलालीका उपाध्यक्ष ममता प्रसाद चौधरी, बझाङका पदाधिकारी, पेशागत महासंघ अछामका अध्यक्ष भिमबहादुर बुढा, बाजुरा अध्यक्ष जहरसिंह थापा, लगायताको सहभागिता रहेको थियो ।













प्रतिक्रिया