१ कार्तिक २०८३, आइतबार

मदिरा, सुर्ती र चुरोट खानेलाई अर्थ मन्त्रीको कडा ‘झापड’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

beer-sausageकाठमाडौं, १६ जेठ । सरकारले शनिबार सदनमा पेश गरेको बजेटले बियर, सुर्ती र चुरोटमा मूल्य वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ को बजेटअनुसार बियर एक लिटरमा ८ रुपैयाँ महँगो भएको छ । बियरमा यसअघि अन्तःशुल्क ९८ रुपैयाँ रहेकोमा अब १ सय ६ पुगेको छ । मदिरा र सुर्तीजन्य वस्तुमा भएको मूल्य वृद्धिबाट उपभोक्तालाई हतोत्साही गर्ने प्रयास गरिएको छ ।

सुर्ती तथा चुरोटमा १३ प्रतिशतसम्म अन्तःशुल्क बढाइएको छ । मदिरामा न्यूनतम १० र अधिकतम १५ प्रतिशतसम्म अन्तःशुल्क बढेको छ ।

सार्वजनिक यातायातमा सञ्चालन हुने विद्युतीय सवारी साधनमा अन्तःशुल्क पूरै छुट दिइएको छ । विद्युतीय सवारी साधनमा भन्सार शुल्क १ प्रतिशत लगाउने सरकारको घोषणा छ । निजी विद्युतीय गाडीमा अन्तःशुल्क पूरै छुट दिई १० प्रतिशत मात्र भन्सार लाग्नेछ ।

सञ्चारगृहले पत्रपत्रिका लागि आयात गर्ने अखबारी कागजमा १ प्रतिशत मात्र भन्सार लाग्ने र महसुल छुट गरिएको छ । अखबारी कागजमा भएको टुटले मिडिया मालिकलाई फाइदा पुगेको छ ।

क्यान्सर, मुटु र मिर्गौला रोगको उपचारमा लाग्ने उपकरण आयातमा मूल्य अभिवृद्धि करमा सबै छुट र भन्सार १ प्रतिशत मात्र व्यवस्था गरिएको बजेट भाषणमा उल्लेख छ ।

सरकारले बजेटमार्फत आयकर छुटको सीमा बढाएको छ । अब वर्षमा ३ लाख ५० हजारसम्म कमाउने अविवाहित र ४ लाख रुपैयाँ कमाउने विवाहित व्यक्तिले आयकर तिर्नुपर्ने छैन । यसअघि यस्तो सीमा २ लाख ५० हजार र ३ लाख रुपैयाँ थियो ।

वार्षिक १ करोडसम्मको कारोबार गर्ने साना तथा मझौला करदाताले लेखापरीक्षण गर्न नपर्ने बजेटमार्फत व्यवस्था भएको छ ।

सेवा कारोबार तथा वस्तु र सेवा मिश्रित कारोबारको मूल्य अभिवृद्धि कर लाग्ने सीमालाई १० लाखबाट बढाई २० लाख कायम गरिएको छ ।