२५ कार्तिक २०८३, बुधबार

योजना आयोगको सीमा नाघेर बजेट आउँदै, दश खर्बभन्दा ठूलो बजेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Artha Mantralayaकाठमाडौं, १५ जेठ । सरकारले आउने आर्थिक वर्षका लागि ठूलो आकारको बजेट आज पेस गर्दैछ ।

संशोधित सीमाअनुसार बजेट १० खर्ब २७ अर्ब रुपैयाँभन्दा ठूलो हुनु नपर्ने हो । तर अर्थ मन्त्रालयले योभन्दा ठूलो आकारको बजेट ल्याउन थालेको छ । बजेटका लागि सुरुमा ९ खर्ब ८ अर्ब रुपैयाँको सीमा निर्धारण गरिएको थियो ।

विवादकै कारण शुक्रबार अबेरसम्म बजेटको आकार टुंगो लाग्न सकेको थिएन । स्रोतका अनुसार अस्वाभाविक वृद्धिको विपक्षमा रहेका योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले सीमाभित्र रहनुपर्ने भनेका छन् ।

अर्थमन्त्री विष्णु पौडेल र सचिव लोकदर्शन रेग्मी सीमाभन्दा ठूलो बजेट थेग्न सकिने पक्षमा छन् । बजेट निर्माणमा संलग्न कोर टिममा खतिवडामात्र अर्थशास्त्री हुन् ।

चालू आर्थिक वर्षको बजेट ८ खर्ब १९ अर्ब रुपैयाँको हो । कर्मचारीको तलब÷भत्ता, सामाजिक सुरक्षा भत्ता वृद्धि, किसानलाई पेन्सन, स्वास्थ्य बीमालगायतमा ठूलो रकम विनियोजन गर्नुपरेकाले बजेटको आकार ह्वात्तै बढेको हो ।

सरकारले नीति तथा कार्यक्रममार्फत थुप्रै ‘पपुलिस्ट’ कार्यक्रम घोषणा गरेकाले तिनमा विनियोजनका लागि बजेटको आकार बढाउनुपरेको हो । स्रोतका अनुसार ८५ वटा नयाँ कार्यक्रम घोषणा गरिँदैछ । ३५ वटा कार्यक्रम हटाइएको छ ।

बजेटको आकार ह्वात्त बढाउन थालेपछि राजस्व संकलनको लक्ष्य महत्त्वाकांक्षी हुने भएको छ । स्रोतका अनुसार ५ खर्ब ७५ अर्ब रुपैयाँको राजस्व संकलन लक्ष्य राखिने भएको छ ।

चालू आर्थिक वर्षमा राजस्व संकलन लक्ष्य ४ खर्ब ७५ अर्ब रुपैयाँ छ । नाकाबन्दीका कारण अहिलेसम्म लक्ष्यअनुसार संकलन नभए पनि आर्थिक वर्षको समाप्तिमा लक्ष्य पूरा हुने विश्वास लिइएको छ । तर आउने वर्ष लक्ष्य निकै चुनौतीपूर्ण छ ।