काठमाडौं, १५ जेठ । चौतर्फी दबाब थेग्न नसकेपछि नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले जेठ २५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
झण्डै एक दशकदेखि महाधिवेशन हुन नसकेर अन्यौलमा रहेको नेविसंघको महाविधेशनका विषयमा अझै पनि अन्यौल कायम छ ।
नेविसंघलाई निश्क्रिय बनाएर व्यक्तिगत फाइदा उठाउन चाहने तत्वको हावी भएको भन्दै विद्यार्थी नेताहरूले नै विरोध गर्दै आएका छन् ।
सभापति शेरबहादुर देउवाले नेविसंघको महाधिवेशनको मिति असार मसान्तभित्र प्रस्ताव गर्न निर्देशन दिएका थिए । तर, नेविसंघको एउटा समूहले फेरि पनि महाधिवेशन गर्न नदिइ टीके अध्यक्ष बन्ने दाउमा सक्रिय भएपछि विरोध भएको थियो ।
कांग्रेसको ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा अध्यक्ष कर्णले महाधिवेशनको मिति र स्थान प्रस्ताव गर्ने प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।
अध्यक्ष कर्ण स्वयंले पनि नेविसंघको महाविधेशन गर्न नचाहेको भनेर आरोप लाग्दै आएको छ । कर्ण सभापति देउवा निकटका मानिदैनन् ।
नेविसंघको महाधिवेशन पोखरा वा चितनमध्ये एकस्थानमा हुनेछ । स्रोतका अनुसार नेविसंघको महाधिवेशन चितवनमा हुन सक्ने सम्भावना अधिक छ ।
नेविसंघको अध्यक्ष पदका लागि संस्थापनबाट नैनसिंह महर तथा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट मनोजमणि आचार्य र नीलकण्ठ रिजालले उम्मेदवारीको घोषणा गरेका छन् ।
महामन्त्रीका लागि शंकरदेव क्याम्पसका विद्यार्थी नेता हरिशचन्द्र भण्डारीले उम्मेदवारी घोषणा गरिसकेका छन् । भण्डारीले आफ्नो प्रचार प्रसारलाई तीब्र बनाइ सकेको जनाएका छन् ।












प्रतिक्रिया