२५ कार्तिक २०८३, बुधबार

मधेसका माग सम्बोधन नभए देशको अवस्था ठिक हुँदैन्ः पूर्व राष्ट्रपति यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-baran-Yadav

बर्दिवास, १३ जेठ । पूर्वराष्ट्रपति डा रामवरण यादवले वर्तमान संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको ठूलो उपलब्धि भएको बताएका छन् ।

महोत्तरीको बर्दिवासमा बुधबार नगर पत्रकार सञ्जाल बर्दिवास र बर्दिवास नगरपालिकाले आयोजन गरेको ‘चुरेक्षेत्र संरक्षण र संवद्र्धन’ विषयक एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै डा यादबले अब मधेसका माग सम्बोधन गरेर यो संविधानलाई अझ समृद्ध बनाउनुपर्ने बताए ।

मुलुक अब आर्थिक समृद्धिको चरणमा प्रवेश गरेकाले यो राष्ट्रिय अभिभारा सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट पूरा गर्न सकिने डा यादवको भनाइ थियो । यसका लागि संविधानमा आफ्ना माग सम्बोधनको कुरा उठाइरहेकालाई राजनीतिको मूलधारमा ल्याउन सरकार र राजनीतिक दलले तत्परता देखाउनुपर्ने उनले बताए ।

“मधेसका दलले संविधानमा आफ्ना कुरा सम्बोधन हुन बाँकी रहेको बताउँदै आएका छन्”, पूर्वराष्ट्रपति डा यादवले भने, “यो अवस्था लम्बिरहनु मुलुकको राष्ट्रिय एकताको मजबुतिका लागि हितकर हुन सक्दैन ।”

मधेसवादी दलले संविधान ऐतिहासिक उपलब्धि भएको आत्मसात् गरेर आफ्ना थप कुराबारे माग उठाउने र सरकार र मुख्य राजनीतिक दल मधेसवादी दलको मागमा लचिलो भए समस्याको समाधान हुने डा यादवको निचोड थियो ।

कार्यक्रममा डा यादवले पहाडी र मधेसी मूलका नेपालीको बसोबास क्षेत्रको साझा चासो रहेको चुरे क्षेत्रको संरक्षण र संवद्र्धन पनि साझा प्रयत्नबाटै हुनसक्ने बताए ।

चुरे पर्वत शृङ्खला मधेसको कृषि, खेतबारीको सुरक्षा, खानेपानी, वनसम्पदाको उपभोग र स्वस्थ जीवनसँग जोडिएकाले यसको संरक्षणमा खासगरी मधेसका बासिन्दाको पहलकदमी बढ्नुपर्ने डा यादवले औँल्याए । रासस