काठमाडौं, १२ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले बहालवाला तथा अवकाशप्राप्त सैनिक व्यक्तिहरुलाई राष्ट्रिय सुरक्षा तथा संवेदनशीलता, संगठनको गोपनीयतालाई ख्याल गर्न सचेत गराएका छन् ।
बुधबार नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथीबृन्दहरुलाई त्रिभुवन आर्मी अफिसर्स क्लबमा भेटघाट तथा अन्तरक्रियामा बोलाएर क्षत्रीले आत्मबृत्तान्त तथा अन्य विषयहरुमा पुस्तक, लेख रचना तथा अन्तर्वाताहरु प्रकाशित गर्दा राष्ट्रिय सुरक्षा तथा संवेदनशीलता, संगठनको गोपनीयतालाई ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।
पूर्व प्रधानसेनापति रुक्मांगत कटवाल र छत्रमान सिंह गुरुङले आफ्नो आत्मबृत्तान्त समेटेर पुस्तक निकालेको र त्यसबाट संगठनका गोप्य सूचनाहरु बाहिर आएको भन्दै चर्काे आलोचना भएपछि प्रधानसेनापति क्षत्रीले आफ्ना अग्रजहरुलाई बोलाएर उनीहरुकै अगाडि मुख खोलेका हुन् ।

यसैगरी कटवाललाई हटाउँदा प्रधान सेनापति घोषणा गरिएका कुल बहादुर खड्काले आफ्नो अन्तर्वार्ता त्यो समय (कटवाल हटाउँदा)मा भएका तथ्यकथा (यथार्थ घटनाहरु) लेख्ने बताएका थिए । उनको अन्तर्वार्तापछि बहालवाला अधिकृतले सेनाका गोप्य सूचना बाहिर ल्याउन मिल्छ भनेर बहस सुरु भएको थियो । उनलाई पनि आजको कार्यक्रममा सचेत गराइएको छ ।
आफ्ना अग्रजहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले नेपाली सेनाप्रति नेपाल सरकार र नेपाली जनताको ठूलो विश्वास एवं अपेक्षालाई अक्षुण्ण राख्नु नेपाली सेनालाई चुनौती र अवसर भएको बताए ।
‘बहालवाला तथा अवकाशप्राप्त सैनिक व्यक्तिहरुले आत्मबृत्तान्त तथा अन्य विषयहरुमा पुस्तक, लेख रचना तथा अन्तर्वाताहरु प्रकाशित गर्दा राष्ट्रिय सुरक्षा तथा संवेदनशीलता, संगठनको गोपनीयता र नेपाली सेनाको संस्थागत साखलाई मध्यनजर राखी सकारात्मक योगदान दिने रुपमा प्रकाशित गर्नुपर्छ,’ क्षत्रीले आफ्ना अग्रजहरुलाई विन्रमता पूर्वक भने ।
आफ्नो स्वागत मन्तव्यबाट कार्यक्रम सुरु गरेका क्षत्रीले नेपाली सेना सम्बन्धी समसामयीक विषयवस्तु लगायत सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विषयमा अद्यावधिक गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।
त्यसै क्रममा हाल सेनाको उच्चस्तरको अपरेशलन तयारी कायम राख्न तालिम, योजना र बन्दोबस्ती लगायतका विषयहरुलाई उच्चस्तरको बनाउनुपर्नेमा जोड दिनुहुँदैं उनले पूननिर्माण, विकास निर्माण तथा प्रकृति संरक्षण तर्फ नेपाली सेनाको भूमिकाका बारेमा समेत अवगत गराएका थिए ।
कार्यक्रममा नेपाली सेनाको वस्तुस्थिती, कल्याणकारी योजना तथा मानव अधिकार सम्बन्धी प्रस्तुतीकरण गरिएको थियो भने महान्यायधिवक्ताको कार्यालयबाट समसामयीक विषयहरुमा अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा, बलाधिकृत रथी श्री बलदेवराज महतले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
यस किसिमको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पुर्याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको जंगी अड्डाले जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महान्यायधिवक्ता हरि फुयाँल, रक्षा सचिव महेश प्रसाद दाहाल, पूर्व प्रधान सेनापतिहरु, सम्पूर्ण पिएसओज रथीबृन्दहरु, अवकास प्राप्त रथीबृन्दहरु, विभिन्न निर्देशनालयका निर्देशक लगायत विभिन्न पृतनाका प्राड प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया