१ कार्तिक २०८३, शनिबार

भुपेन्द्र निरौला र सिन्दिरा जोशी नयाँ राष्ट्रिय चेस च्याम्पियन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chees-game

ईलाम, ११ जेठ । क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला र सिन्दिरा जोशी नेपाली चेसमा नयाँ राष्ट्रिय च्याम्पियन बन्न सफल भएका छन् ।

ईलाममा सम्पन्न १९ औं राष्ट्रिय चेस च्याम्पियनशीपमा उत्कृष्ट प्रदर्शन गरेका झापा दमक निवासी भुपेन्द्रका लागि अन्तिम खेल विर्सनलायक रह्यो । एक चरण अघि नै १९ औं राष्ट्रिय च्याम्पियन बन्नका लागि पर्याप्त अंक जोडेका भुपेन्द्रले पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर विलमलाल श्रेष्ठसँगको खेलमा ब्लन्डर गरेपछि खेल त्याग गरे । ९ खेलमध्ये ६ मा जीत, २ बराबरी र १ खेल गुमाएका भुपेन्द्रले ७ अंक सहित च्याम्पियनशीपको उपाधि हात पारेका हुन् ।

काठमाण्डौकी सिन्दिरा जोशी एपिएफकी शान्ता थापा तथा पूर्व महिला राष्ट्रिय च्याम्पियन मोनालिशा खम्बुलाई टाईब्रेकमा पछि पार्दै चौथो महिला राष्ट्रिय चेस च्याम्पियन बनेकी हुन् । ९ खेलबाट समान ७ अंक भए पनि हेड टु हेड रिजल्टका आधारमा सिन्दिरा च्याम्पियन बनेकी हुन् । नेशनल बी च्याम्पियन समेत रहेकी सिन्दिराले अन्तिम चरणको खेलमा काठमाण्डौकी बिनिता कपालीसँग बराबरीको नतिजा हात पारिन् ।

नेपाल आर्मी क्लबका सजिन महर्जनले १९ औं राष्ट्रिय चेस च्याम्पियनशीपमा दोश्रो स्थान हात पारे । अन्तिम चरणको खेलमा पूर्व राष्ट्रिय च्याम्पियन नविन तण्डुकारलाई पराजीत गरेका सजिनले ६ दशमलब ५ अंक बनाए । त्यसैगरी १८ औं राष्ट्रिय च्याम्पियन क्यान्डिडेटमास्टर केशव श्रेष्ठले कुल ६ अंकका साथ तेश्रो स्थानमा चित बुझाए । समान ६ अंक बनाएका राष्ट्रिय एमेच्योर च्याम्पियन क्षितीज भण्डारी चौथो तथा बिलमलाल श्रेष्ठ पाँचौं स्थानमा रहन सफल हुँदै आगामी सेप्टेम्बरमा अजरबैजानको बाकुमा हुने ४२ औं चेस ओलम्पियाडका लागि छनौट समेत भएका छन् ।

उता महिलातर्फ एपिएफ क्लबकी शान्ता थापा दोश्रो स्थानमा रहिन भने खोटाङकाी मोनालिसा खम्बु तेश्रो भईन । नुवाकोटकी सुजना लोहनी ६ अंक सहित चौथो तथा धनकुटाकी अस्मिता अधिकारी ५ दशमलब ५ अंकका साथ पाचौं स्थानमा रहँदै ओलम्पियाडका लागि छनौट हुन सफल भए ।

नेपाल पुलिस क्लबका पुरुषोतम चौंलागाईं यसपटक पनि बुकोल्स टाईब्रेक प्रणालीमा पछि पर्दै छैटौं स्थानमा रहे । ९ खेलबाट ६ अंक जोडेका चौंलागाईं १८ औं राष्ट्रिय च्याम्पियनशीपमा समेत टाईब्रेकमा पछि पर्दै छैटौं स्थानमा रहेका थिए । त्यसैगरी नेपाल आर्मी क्लबका हिमाल लामा ६ अंक सहित सातौं स्थानमा रहे । पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर मनिष हमाल ५ दशमलब ५ अंकका साथ आठौं स्थानमा रहे । समान ५ दशमलब ५ अंक बनाएका झापाका प्रकाश नेपाल र काठमाण्डौका विजय डंगोल क्रमशः नवौं तथा दशौं स्थानमा रहे ।

महिलातर्फ ओलम्पियाड खेलाडी संगीता जयसवाल, तेश्रो राष्ट्रिय च्याम्पियन बिना जयसवाल, काठमाण्डौकी अनिशा न्यौपाने तथा आभा पुडासैनी समान ५/५ अंकका साथ क्रमशः छैटौं, सातौं, आठौं तथा नवौं स्थानमा रहन सफल भए । त्यस्तै रौतहटकी बिशेखा जयसवाल ४ दशमलब ५ अंक सहित दशौं स्थानमा रहिन् ।

सिवानी एयरलाईन्सको मुख्य प्रायोजन तथा नेपाल निमार्ण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सह प्रायोजनमा स्थानीय समिट होटलमा सम्पन्न च्याम्पियनशीपमा महिलातर्फ १८ तथा खुलातर्फ ३५ खेलाडीको सहभागिता रहेको थियो । नेपाल बुद्धिचाल संघको आयोजना तथा ईलाम जिल्ला बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबको स्थानीय व्यवस्थापनमा भएको च्याम्पियनशीपका विजेतालाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र लाखे, नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतम, गजुरमुखी निर्माण कम्पनिका प्रमुख दिपक गौतम लगायतले पुरस्कार वितरण गर्नुभयो ।

ब्लिजतर्फ मनिष र बिना च्याम्पियन
फिडेमास्टर मनिष हमाल पहिलो राष्ट्रिय ब्लिज चेस च्याम्पियन बनेका छन् । त्यसैगरी पहिलो महिला राष्ट्रिय ब्लिज चेस च्याम्पियनको उपाधि बिना जयसवाल हात पारिन । शनिबार ईलाममा सम्पन्न च्याम्पियनशीपमा खुलातर्फ झापाका प्रकाश नेपाल दोश्रो तथा काभ्रेका क्षितीज भण्डारी तेश्रो स्थानमा रहन सफल भए । त्यसैगरी महिलातर्फ एपिएफ क्लबकी शान्ता थापा तथा नुवाकोटकी सुजना लोहनी क्रमशः दोश्रो र तेश्रो स्थानमा रहन सफल भए ।