काठमाडौं, ११ जेठ । प्रमुख विद्यार्थी संगठनहरूले निजी विद्यालयको शुल्क र पाठ्यपुस्तक र शैक्षिक विषयमा भएका पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
काठमाडौंको पुतलीसडकस्थित नेपाल विद्यार्थी संघको मुख्यालयमा आज बिहान बसेको प्रमुख विद्यार्थी संगठनहरूको बैठकले विगतमा भएका शैक्षिक सहमति कार्यान्वयन गर्न सरोकारवाला निकायलाई आग्रह गर्ने निर्णय गरेको छ ।
नेविसंघका प्रवक्ता यूपी लामिछानेका अनुसार विगतमा भएका सहमति कार्यान्वयन नभए कडा आन्दोलन गर्न आफूहरू बाध्य हुने विद्यार्थी संगठनहरूको निर्णय छ ।
निजी विद्यालय अनुगमनका क्रममा देखिएका विषयलाई प्रमुख विद्यार्थी संगठनहरूले बुधबार पत्रकार सम्मेलन गरेर भण्डाफोर गर्ने निर्णय पनि गरेका छन् ।
अनुगमनका क्रममा विद्यार्थी संगठनहरूले राजधानीका नाम चलेको ठूला विद्यालय सरकारी नीति र मापदण्ड विपरीत चलेको पाएका थिए । पत्रकार सम्मेलनमा ती विद्यालयहरूको नामसहित भण्डाफोर हुनेछ ।
ती विद्यालयका विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेट गरेर ३ दिनभित्र प्रमुख विद्यार्थी संगठनले उठाएका शैक्षिक माग र निजी विद्यालयको ज्यादती रोक्न अल्टिमेटम दिइने प्रवक्ता लामिछनेले बताउनुभयो ।












प्रतिक्रिया