टोकियो, ११ जेठ । पछिल्लो समय संसारभरि एटिएम कार्ड प्रयोगको प्रचलन बढेको छ । सरकारी तथा निजी कमर्सियल बैंकहरूले एटिएम शाखाको सञ्जाल विस्तारलाई जोड दिँदै आएका छन् ।
एटिएमबाट रकम झिक्ने काम सबैभन्दा सुरक्षित मानिन्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
तर, गत १४ मेमा जापानको टोकियो सहरमा १४ सय एटिएमबाट तीन घन्टाभित्र १.४४ बिलियन जापानिज येन ( एक अर्ब ४४ करोड नेपाली रुपैयाँ) चोरी भएको छ ।सयजना व्यक्ति सम्मिलित एक समूहले निकै चलाखीपूर्ण तरिकाले एटिएमहरूबाट रकम निकालेको जापानिज प्रहरीले खुलासा गरेको छ ।
एटिएमबाट रकम चोरी गर्नेमा रोमानियाली नागरिक पनि छन् । जापानिज प्रहरीले ती व्यक्तिको नाम गोप्य राखेको छ । उनी इन्टरपोलको मोस्ट वान्टेड सूचीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनी पैसा चोरी गर्नेका नेता भएको दाबी गरेको छ ।
सो समूहले टोकियो सहरको लगभग सबै एटिएमबाट रकम झिकेको जनाइएको छ । तीन घन्टाको अवधिमा उनीहरूले ‘मास्टर प्लान’ बनाएरै एटिएमबाट रकम झिकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।
टोकियोको कानागावा, आइची, ओसाका, फुकुओकामा रहेका एटिएमबाट त्यति धेरै रकम झिकेको प्रहरीले बताएको छ । गिरोहले आइतबारको दिन रोजेको हो । त्यस दिन अधिकांश बैंक बन्द थिए ।















प्रतिक्रिया