८ कार्तिक २०८३, आइतबार

एकाएक कता हराए यी १८ नेपाली ? विश्वभरिका प्रहरीले खोज्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Interpolकाठमाडौं, ९ जेठ । हराएका १८ नेपालीको खोजीका लागि इन्टरपोलले उनीहरूको नाममा एल्लो नोटिस जारी गरेको छ । नेपाल र अन्य देशबाट हराएकाहरूको खोजीमा विभिन्न देशको सहयोगका लागि नेपालमा रहेको इन्टरपोल शाखा (एनसीबी) को आग्रहमा इन्टरपोलले ४ वर्षको बीचमा आफ्ना १ सय ९२ सदस्य राष्ट्रलाई खोजीमा सघाउन नोटिस जारी गरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

इन्टरपोलले नोटिस जारी गरेकामा कोस्टारिका, भारत र नेपालबाट हराएकाहरूको संख्या बढी छ । कोस्टारिका पुगेका चार नेपाली सन् २०१३ मा हराएपछि सन् २०१४ जुन ३० मा इन्टरपोलले तीन जनाको नाममा एकै दिन नोटिस जारी गरेको थियो ।

‘विदेशमा हराएका नेपाली र नेपालभित्र हराएका तर दोस्रो देश पुग्न सक्ने देखिएकाहरूको खोजीका लागि एल्लो नोटिस जारी गराउने गरेका छौं,’ एनसीबी प्रमुख डीएसपी बसुन्धरा खडकाले भनिन्, ‘नोटिस जारीपछि इन्टरपोलका सदस्य राष्ट्रमा खोजी सहज हुन्छ ।’

प्रहरी प्रधान कार्यालयमा रहेको एनसीबीको २०१६ जनवरीसम्मको तथ्यांकअनुसार कोस्टारिका पुगेका पर्वतका वीरेन्द्र मल्ल, झापाका नरेन्द्रकुमार डाँगी, सुवास कार्की र इलामका फिरोज चौहान सम्पर्कविहीन भएका थिए । उनीहरू २०१३ को १० जुनमा कोस्टारिकाबाट हराएका थिए ।

भारतको गुजरातबाट हराएका हुन्तराज कोइरालाको खोजीमा इन्टरपोलले नोटिस जारी गरेको छ । सूचीअनुसार कामको खोजीमा गोवा हिँडेका राजु परिवार मुम्बईमा हराएका थिए । उनी कामका लागि गोवा जान मुम्बई पुगेका थिए ।

उत्तर प्रदेशको कुशीनगर हिँडेका मीनबहादुर श्रेष्ठसमेत फेला परेका छैनन् । उनी मुम्बईको रेल्वे स्टेसनबाट हराएका थिए । भारतको सिलिगुडीबाट हराएका बाँकेका जगतसिंह तामाङको नाममा पनि एल्लो नोटिस जारी भएको छ । बेल्जियमबाट हराएकी पार्वती ढुंगाना र आयरल्यान्डबाट हराएका केन्द्र एमसीलाई पनि ४ वर्षदेखि इन्टरपोलका सदस्य राष्ट्रले खोजी गरिरहेका छन् ।

नेपालमै हराएका ३ नेपाली नागरिकको खोजीका लागिसमेत इन्टरपोलबाट नोटिस जारी भएको छ ।

एनसीबी काठमाडौंको सूचीअनुसार बानेश्वरबाट हराएकी रञ्जना घिमिरे र छोरीमाया महर्जन, स्याफ्रुबेसी ट्रेकिङ जाँदा हराएका सर्वेश्वर अधिकारीको नाममा समेत इन्टरपोलले नोटिस जारी गरेको छ । एनसीबी काठमाडौंको सूचीमा नभए पनि इन्टरपोल केन्द्रको सूचीमा नेपालमा हराएका सुवास कार्कीको नाम एल्लो नोटिसमा छ ।

डीएसपी खड्काले नेपालमा हराए पनि दोस्रो देश जान सक्ने, व्यक्ति राहदानीसँगै हराएको या विमानस्थल पास भएको जानकारीका आधारमा स्वदेशमा हराएका नागरिकको खोजीमा समेत इन्टरपोलको सहयोग मागिने गरिएको बताइन् ।

‘हराएको व्यक्ति नेपाल बाहिर पुग्न सक्ने सम्भावना छ भने निवेदन आए एल्लो नोटिस जारी हुन सक्छ,’ खडकाले भनिन्, ‘नेपालभित्र हराएको तर नेपालबाहिर जाने सम्भावना नदेखिएका नेपालीको हकमा भने जारी हुन्न ।’

खडकाका अनुसार इन्टरपोलको नोटिसमा परेका व्यक्तिबारे अन्तर्राष्ट्रिय विमानस्थलमा अलर्ट जारी हुने हुँदा पहिचान र हुलिया नबदलिए एक देशबाट अर्को देश जाँदा सहजै ट्रयाक हुन सक्छ । नेपालबाट हालसम्म खोजीका लागि एल्लो नोटिसमा परेकाहरू फेला परेका छैनन् ।

एकाएक हराएकी छोरीमैयाको खोजीमा सामाजिक दबाब बढेपछि चार वर्ष अगाडि इन्टरपोलले नोटिस जारी गरेको थियो । उनको अवस्था अझै अज्ञात नै छ ।

डीएसपी खडकाका अनुसार आयरल्यान्डमा हराएका एमसीको खोजीमा चासो दिँदै आयरल्यान्ड सरकारले उनीबारे थप विवरण मागेको छ ।

कोस्टारिकाबाट हराएका तीन नेपाली नागरिकको अवस्थाबारे थप जानकारी भने आएको छैन ।