काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिकाले महानगरभित्र २१ हजार आठ सयभन्दा बढी भुस्याहा कुकुर रहेको तथ्यांक सार्वजनिक गरेको छ ।
भुस्याहा कुकुर नियन्त्रण गर्ने उद्देश्यले हयुमन सोसाइटी इन्टरनेसनल र द जेन गुडल इन्स्टिच्युटको सहकार्यमा महानगरपालिकाले कुकुरको गणना गरेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
तथ्यांकअनुसार महानगरपालिकाभित्र भेटिएकामध्ये सात हजार चार सय ३१ वटा पोथी कुकुर छन् । जसमध्ये एक हजार नौ सय ६७ वटा पोथी कुकुर बच्चालाई दूध चुसाउँदै गरेको अवस्थामा छन् । बाँकी १४ हजार चार सय २५ भने भाले कुकुर छन् । तथ्यांकअनुसार एक सिजनमा पोथी कुकुरले १२ वटासम्म छाउरा जन्माउने क्षमता राख्दछ ।
कुकुर नियन्त्रण सुरु
मुलुकको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार परिसरलाई कुकुर नियन्त्रण क्षेत्र घोषणा गरेपछि महानगरपालिकाले अब मातहतका क्षेत्रलाई पनि कुकुर नियन्त्रण क्षेत्र घोषणा गर्ने भएको छ । यसका लागि महानगरपालिकाले मतहतका ३५ वडालाई आठ क्षेत्रमा विभाजन गरेको छ ।
त्यसमध्ये क्षेत्र नम्बर २ मा महानगरपालिकाले काम सुरु गरिसकेको छ । यस क्षेत्रअन्तर्गत महानगरपालिकाको १४ वटा वडा पर्छन् । महानगरपालिकाका अनुसार यस क्षेत्रमा कुकुरको गणना भइसकेको छ ।
कुन क्षेत्रमा कति कुकुर ?
तथ्यांकअनुसार यस क्षेत्रमा तीन हजार हजार दुई सय ५१ वटा कुकुर छन् । त्यसमध्ये एक हजार पाँच सय ६० वटा पोथी कुकुर छन् । त्यसमा एक सय ९५ वटा बच्चालाई दूध चुसाउँदै गरेका माउ कुकुर छन् । यस क्षेत्रमा महानगरका वडा नं. १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र ३० वडा समावेश छन् । महानगरका १३, १४ र १५ वडालाई क्षेत्र नं. १ मा समेटिएको छ । यस क्षेत्रमा तीन हजार पाँच सय २५ वटा कुकुर छन् । त्यसमध्ये नौ सय १६ वटा पोथी कुकुर छन् । त्यस्तै, क्षेत्र नं. ३ मा वडा नं. १, ११, ३१, ३२ र ३३ समावेश छन् । यस वडामा दुई हजार आठ सय ४४ कुकुर छन् ।
त्यसमध्ये चार सय २६ वटा पोथी कुकुर छन् । वडा नम्बर १० र ३४ लाई समेटेर छुटयाइएको क्षेत्र नम्बर ४ मा भने एक हजार नौ सय १४ वटा सामुदायिक कुकुर छन् । यस क्षेत्रमा ८ सय ६१ वटा पोथी कुकुर छन् । महानगरको वडा नम्बर ६, ७ र ८ लाई क्षेत्र नं. ५ मा राखिएको छ । यस क्षेत्रमा तीन हजार एक सय ३६ वटा कुकुर छन् । त्यसमध्ये आठ सय १६ वटा पोथी कुकुर छन् ।
क्षेत्र नम्बर ६ मा महानगरको वडा नं.२, ३, ४ र ५ पर्छन् । यस क्षेत्रमा दुई हजार तीन सय १३ वटा कुकुर छन् । त्यसमध्ये ७ सय ४० वटा पोथी कुकुर छन् । महानगरको वडा नम्बर १६ र २९ क्षेत्र नम्बर ७ मा पर्छ । यस क्षेत्रमा दुई हजार पाँच सय १६ कुकुर छन् । त्यसमध्ये सात सय ८० वटा पोथी कुकुर छन् । क्षेत्र नम्बर ८ मा वडा नंं. ९ र ३५ पर्छ । यस क्षेत्रमा दुई हजार तीन सय ५७ कुकुर छन् ।















प्रतिक्रिया