काठमाडौं, ५ जेठ । संघीय गठबन्धनले १२ दिने आन्दोलनको घोषणा गरेको छ ।
उपत्यका केन्द्रित १० दिने र उपत्यकाबाहिर वीरगञ्ज र पोखरामा २ दिन आन्दोलनको घोषणा गरेको छ । जुलुस, र्याली र विरोध सभाहरुसहितका आन्दोलन कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
संघीय गठबन्धन संयुक्त राष्ट्रिय आन्दोलन मूल परिचालन समितिका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । समाजवादी फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा बुधबार विहान बैठक बसेको थियो ।
संघीय गठबन्धनद्धारा जारी रहेको आन्दोलनलाई संविधान पुनर्लेखन गरी मधेशी, आदिवासी जनजाति, खस समुदाय, शिल्पी समुदाय (दलित), थारु, अल्पसंख्यक समुदाय, मुश्लिम, महिला, पिछडावर्ग, सीमान्तकृत समुदाय, लोपोन्मुख जातरजातिलगायत बहिष्करणमा पारिएकारपरेका समुदायहरुको मुद्दाहरुलाई सम्बोधन नगरुन्जेलसम्म निरन्तर रुपमा जारी नै राख्ने बैठकले निर्णय गरेको आन्दोलन घोषणाको विज्ञप्तीमा छ ।
जेठ ६ गतेदेखि १७ गतेसम्मको चरणबद्ध आन्दोलनको कार्यक्रम उपत्यकाको १० स्थानमा विरोध सभाहरु गरिने गरिने भएको छ । जुलुससहितका सबै विरोध सभाहरु ३ बजेपछि तय गरिएको छ । काठमाडौंको नयाँ बानेश्वर, स्वयम्भू, चावहिल चोक, कीर्तिपुर–नयाँबजार, बालाजु बाइपास, कंलकी, बसन्तपुर–जुद्ध शालिक, भक्तपुरको भक्तपुर–न्यातपोल, मध्यपुर ठिमी र ललितपुरको मंगलबजारमा जेठ ६ गतेदेखि १५ सम्मका कार्यक्रम स्थलहरु निश्चित गरिएको छ ।
त्यसैगरी उपत्यकाबाहिर विरगञ्ज र पोखरामा जेठ १६ र १७ गते विरोध सभहरु हुने जनाइएको छ ।
मधेसी लोकतान्त्रिक मोर्चासहितको २९ दलीय गठबन्धनले जेठ १ गतेदेखि उपत्यका केन्द्रित आन्दोलन गर्दै आएको छ । संविधान जारी हुनु अघि साउन ३० गतेदेखि नै २९ दलमा सम्बद्ध अधिकांश दलहरु आन्दोलनमा थिए । मधेसी लोकतान्त्रिक मोर्चामा सम्बद्ध दलहरुले अनिश्चितकालीन मधेस–तराईमा आम हड्तालदेखि नाकामा धर्ना समेत बसेका थिए ।
६ महिना लामो शान्तिपूर्ण आन्दोलनमा राज्यले ५८ जना भन्दा बढीको ज्यान लिएको थियो । हजारौंको संख्यामा घाइते र अंगभंग भएका थिए र छन् । राज्य आन्दोलनरत पक्षहरुको जायज मागहरुलाई वार्ता र संवादबाट सम्बोधन गर्न्तिर भन्दा कमिसनखोर, घुसखोरी, कालाबजारी र जनविरोधी कार्यहरु गरिरहेको आन्दोलनरत दलहरुको आरोप छ । जारी आन्दोलन राष्ट्रिय एकीकरण आन्दोलन भएको समेत उनीहरुको दाबी छ ।
मधेसी, आदिवासी जनजाति, शिल्पी (दलित), मुस्लिम, खस, महिला, उत्पीडित क्षेत्रका जनताको मुद्धाहरुलाई सरकार पुरै वेवास्ता गरिरहेको समेत आन्दोलनरत दलहरुले बताइरहेका छन् । सरकार वार्ताको नाटक मात्र गरेर जनताालाई भ्रममा पारिरहेको संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले भने, ‘वार्तामा सरकारका प्रतिनिधिहरु गैरजिम्मेवार बोली र व्यवहार प्रस्तुत गर्छन् । ३६र३६ पटक वार्तामा बसियो । तर सरकार वार्ताको वातावरण बनाउनुको सट्टा बिर्गानका लागि उत्तेजित बनाउने गर्छ । हामी वार्ताको विरोधी होइनौ । सरकार सार्थक वार्ता चाहिरहेको छैन ।’














प्रतिक्रिया