काठमाडौं, ३ जेठ । भारतीय राजदूतावासका डिपुटी चिफ अफ मिसन विनयकुमारले गत साता सप्तरीको सदरमुकाम राजविराजमा काठमाडौं र बिराटनगरमा भएको बम काण्डका मुख्य आरोपीसंगै डिनर गरेको तथ्य फेला परेको छ ।
बिनयकुमारको सम्मानमा राजबिराजमा आयोजना गरिएको डिनर भोजमा बमकाण्डका मुख्य अभियुक्त र योजनाकार राजविराज निवासी विनोद पाण्डेको सक्रिय सहभागिता रहेको तथ्य खुलेको छ ।
डिनरको फोटोमा डिसिएम विनयकुमार नजिकै विनोद पाण्डे उभिएका छन् । पाण्डे बम काण्डका आरोपी भए पनि राजनीतिक दबाबका कारण रिहा हुन सफल भएका व्यक्ति हुन् ।
सन् २००९को सेप्टेम्बरमा पाण्डे विराटनगर–४ स्थित एक कुखुरा फार्मबाट पक्राउ परेका थिए । त्यतिबेला उनी ४ बोरा सकेट बमसहित पक्राउ परेका थिए ।
प्रहरीले त्यतिबेला पाण्डेसँगै नवीन पाण्डे र सोनु लिम्बुलाई पक्राउ गरेको थियो । चार बोरा सकेट बमका अतिरिक्त आरोपीहरुबाट कम्प्युटर, प्रिन्टर, मोटरसाइकल, चार वटा मोबाइल र एउटा पेस्तोल फेला परेको थियो ।
पाण्डेका साथबाट दुई वटा पेट्रोल बम, बारुद तथा बम बनाउने अन्य सामग्रीसमेत फेला परेका थिए । आपराधिक पृष्ठभूमिका उनले त्यतिबेला हिन्दूवादी संगठन रणवीर सेनाको कमान्डर भएको बताएका थिए । पछि उनी राजनीतिक दवाबमा रिहा हुन सफल भए ।
भारतको चेन्नईबाट सिभिल इन्जिनियरको डिग्री समेत लिएका पाण्डे हिन्दु राजतन्त्र फर्काउने मिसनमा छन् । उनले त्यतिबेला प्रहरीलाई आफूले इन्टरनेटबाट बम बनाउन सिकेको बताएका थिए ।
विराटनगरमा सभा विथोल्न उनको समूहले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पाइप बम समेत बिष्फोट गराएको, २०६४ साल भदौदेखि विराटनगरमा ९ वटा र काठमाडौंमा दुई वटा विष्फोटका घटना गराएको, संविधानसभा सुरु हुने अघिल्लो दिन संविधानसभा भवन बाहिर र संविधानसभाका सदस्यहरुले शपथग्रहण गरेको दिन रत्नपार्कमा अर्को बिष्फोट गराएको प्रहरीले जनाएको थियो ।
आपराधिक क्रियाकलापको पृष्ठभूमिका पाण्डेलाई भारतीय राजदूतावासको दोस्रो ठूलो व्यक्तिसँग रात्रिभोजमा सहभागी भएपछि डीसीएम बिनयकुमारसंगै दूतावासको नियतमाथि अनेक शंका उत्पन्न भएको छ ।
भोजमा खिचिएको फोटोमा डीसीएम विनयकुमारसँग विनोद पाण्डेका अतिरिक्त भूमिसुधार तथा व्यवस्थापन मन्त्रालय अन्तर्गतको राष्ट्रिय भू–उपयोग आयोजनाका प्रमुख नागेन्द्र झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका बरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंह, प्राध्यापक शैलेन्द्रकुमार झा, रेडक्रस सोसाइटी सप्तरीका सभापति समेत रहेका हिन्दु स्वयम सेवक संघका जोगेन्द्र भगत, सप्तरीका सहायक सिडिओ रामेश्वर आर्यालय सहितकाहरु समेत देखिएका छन् ।














प्रतिक्रिया